लहान । लहान नगरपालिका –२० र सखुवानन्कारकटि गाउँपालिका –३ का मुसहर बस्तीमा रोटरी क्लव अफ लहानले सिरक वितरण गरेको छ । मङ्सिर पहिलो सातादेखि नै चिसो बढ्न थालेकाले मुसहर बस्तीका दुई सय घर परिवारमा फइवरको सिरक वितरण गरिएको क्लवका अध्यक्ष अभिषेक रोशनले जानकारी दिनुभयो ।
दि नेपाल डिष्ट्रिलिज प्रइभेट कम्पनि लिमिटेडको आर्थिक सहयोगमा सिरक वितरण गरिएको जानकारी उहाँले दिनुभयो । सिरक वितरण कार्य स्थानीय सरकासँग समन्वय गरेर अति विपन्न दलित बस्ती लहान नगरपालिकाको वडा नम्बर २० हरिनगरा र लहान नगरपालिसँगै सिमाना जोडिएको सखुवानन्कारकटि गाउँपालिका–३ मिर्जापुरका मुसहर समुदायको बस्तीमा वितरण गरिएको क्लवका अध्यक्ष रोशनले बताउनुभयो ।
सिरक पाएका सखुवानन्कारकटि –३ मिर्जापुरका बद्री सदाय भन्नुहुन्छ, ‘‘यस वर्ष सुरुमै न्यानो सिरक पाएपछि मुसहर समुदाय हर्षित भएका छौं । वृद्ध बालबालिकाका लागि सिरक अति नै उपयोगी हुन्छ । सिरकका लागि पहल गर्ने गाउँपालिका र उपलब्ध गराएको रोटरी क्लवलाई हाम्रो तर्फबाट धन्यवाद छ ।’’
शितलहर चलेपछि न्यानो लुगा वितरण गर्नुभन्दा सुरुवातमा वितरण कार्य अति नै उपयोगी भएको लहान–२० का वडाध्यक्ष गणेशकुमार चौधरीले बताउनुभयो । उहाँले यस वडामा रहेका सम्पूर्ण दलित विपन्न समुदायलाई शितलहरबाट जोगाउन पूर्व तयारीअन्तर्गत पहिलो चरणमा सिरक वितरण गरिएको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘लहान नगरपालिकामा रहेको विपद् व्यस्थापन समिति यस पटक देखाएको सक्रियताले उचित समयमा पीडित लक्षित समुदायले राहत पाउनेछ । यो कार्य प्रशंसनीय र उपयोगी रहेको छ ।’’
यता सखुवानन्कारकटि गाउँपालिका वडा नम्बर –३ का वडाध्यक्ष भोगेन्द्रप्रसाद यादवले यस वडामा रहेको मिर्जापुर र पोर्ताहामा गरी दुई सय घरपरिवार मुसहर समुदायको बस्ती रहेको बताउनुभयो । ‘‘दुई सय परिवार मुसहर समुदायका लागि न्यानो लुगाका लागि पहल गर्ने क्रममा रोटरी क्लवले गरेको सहयोगबाट आफू प्रेरित भई अन्य सहयोगी संघ संस्थाहरुसँग समन्वय गरी समयमै राहत पुर्याउने छौं’’,उहाँले भन्नुभयो ।