सप्तरी । सप्तरीमा दुई दिनको अवधिमा विभिन्न ठाउँबाट ३८ जना फरार अभियुक्त र आरोपितलाई पक्राउ गरिएको छ । गत कात्तिक १३ गते एकै दिन २४ जनालाई पक्राउ गर्न सफल सप्तरी प्रहरीले आज विभिन्न मुद्दाका ३८ जना अभियुक्तलाई पक्राउ गरी दुई वर्ष चार महिना २१ दिन कैद र रु ७४ हजार चार सय ५० असुल गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार आज बलात्कार घटनाका अभियुक्त सप्तरीको बोदे बरर्साइन नगरपालिका–६ का हृदयलाल यादवलाई पक्राउ गरिएको छ । अदालतबाट उनलाई छ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला भएको जनाइएको छ ।
यसैगरी बोक्सीको आरोप लगाएको आरोपमा दुई महिना १९ दिन कैद सजायपश्चात् फरार रहेका सप्तरीको राजविराज नगरपालिका–९ का प्रदीप नुनिया पक्राउ परेका छन् ।
सप्तरीको सुरुङगा नगरपालिका–३ का जसीलाल चौधरीलाई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी रु एक हजार असुल गरिएको प्रनाउ बस्नेतले बताए ।
बहुविवाहका फरार अभियुक्त सप्तरीको विष्णुपुर गाउँपालिका–१ का अजय यादव र सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१४ का अभिजित मण्डल पनि पक्राउ परेका छन् । अदालतले यादवलाई २८ दिन कैद र रु १० हजार जरिवाना तथा मण्डललाई रु १० हजार जरिवानाको फैसला गरेको थियो ।
बिगो लेनदेन मुद्दामा फरार रहेका सप्तरीको महदेवा गाउँपालिका–२ का मिस्टर यादवलाई पक्राउ गरिएको छ । उनलाई १० महिना कैद सजायको फैसला भएको छ । यस्तै आठ महिना कैद सजायपछि फरार रहेका अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ का भगवती भगत पक्राउ परेका छन् ।
चोरी आरोपमा उनलाई अदालतले आठ महिना कैदका साथै रु छ हजार छ सय ७८ जरिवाना गरेको छ । चोरी आरोपमा सप्तरीको मलेठ–७ का झरी सदा र सालको चिरान काठ चोरी आरोपमा सप्तरीको तिलाठी कोइलाडी–३ का वंशी मुखिया पक्राउ परेका छन् । सदालाई रु एक हजार र मुखियालाई रु दुई हजार एक सय ४० जरिवाना भएको छ ।
लागुऔषध मुद्दाका अभियुक्त राजविराज नगरपालिका– ९ का अरुणकुमार सदा पक्राउ परेका छन् । लागुऔषध आरोपमा उनलाई २३ दिन कैद र रु दुई हजार जरिवानाको फैसला भएको थियो ।
कुटपिट, लुटपाट मुद्दाका १० जना, कुटपिट मुद्दाका नौ जना, लुटपाट मुद्दाका दुई जना, सवारी अङ्गभङ्ग मुद्दाका दुई जना तथा कीर्ते, जालसाजी, गाली–बेइज्जती, चेक अनादर र नाता कायम मुद्दाका एक–एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले फरार रहेका अभियुक्तलाई पक्राउ गरी कैद र जरिवाना असुल गर्ने अभियान नै सञ्चालन गरेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।