बारा । बाराको गढीमाईमा हुने मेलालाई ध्यानमा राखेर कनेक्ट किसानले यही मंसिर १८ देखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ गर्ने भएको छ। ५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी हुने भक्तजन र तराई क्षेत्रका कृषकहरुलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलामा किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ताहरूको जमघट हुने मेला संयोजक सञ्चिता लामिछानेले जानकारी दिइन् । उनले एक्स्पोमा २ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता र ५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने जानकारी दिइन् ।
आयोजकका अनुसार एक्स्पोमा १५० भन्दा बढी स्टल रहनेछन्, जहाँ कृषिमा भित्रिएको नवीनतम प्रविधि, मल, बीउ, परामर्श र अन्य आवश्यक सामग्रीहरू एकै ठाउँमा उपलब्ध हुनेछन् ।
एक्स्पोको प्रमुख आकर्षण कृषि सेमिनार हुनेछ, जहाँ किसानहरूले विज्ञहरूसँग निःशुल्क परामर्श लिन र भलाकुसारी गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।
एक्स्पोको सफलताका लागि कृषि सूचना तथा प्रशिक्षण केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि औजार अनुसन्धान केन्द्र, कृषि अनुसन्धान निर्देशनालय, राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र र कृषि उद्यम केन्द्र लगायतका विभिन्न संघसंस्थाहरुले प्रवर्द्धक र साझेदारको भूमिका निर्वाह गर्नेछन् ।
एक्स्पोमा कृषिका विभिन्न विधा जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरी, केरा खेती, थोपा सिंचाइ, विषादीरहित कृषि र कृषि नवीनतम औजारहरूको प्रदर्शनी गरिनेछ । मेलाबाट देशभरिका उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र अन्य कृषकहरूले आधुनिक प्रविधिको जानकारी प्राप्त गर्ने विश्वास आयोजकको छ ।