सामाजिक सञ्जाल अहिले हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा बनेको छ । सूचना, मनोरञ्जन, ज्ञान आर्जन र साथीहरूसँग सम्पर्क कायम राख्ने सजिलो माध्यम बनेको छ सामाजिक सञ्जाल । तर सामाजिक सञ्जालको सकारात्मक पक्षसँगै यसका नकारात्मक पक्ष पनि उत्तिकै छन् ।
अनलाइन प्लाटफर्महरूमा धेरै समय बिताउनु आँखाको लागि मात्र होइन, मानसिक स्वास्थ्यको लागि पनि धेरै खतरनाक हुनसक्छ । यसको प्रत्यक्ष असर मस्तिष्कमा पर्छ । नेचर ह्युमन बिहेभियरमा प्रकाशित युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताहरूको टोलीले गरेको अध्ययनले मानसिक स्वास्थ्य र स्मार्टफोन, ल्यापटप र सामाजिक सञ्जालको अत्यधिक प्रयोगबीचको सम्बन्ध देखाएको छ ।
यस अध्ययनले कमजोर मानसिक स्वास्थ्य भएका व्यक्ति नकारात्मक अनलाइन सामग्रीप्रति बढी आकर्षित भएको देखाएको छ । यस अध्ययनमा एक हजार भन्दा बढी सहभागीहरूको अनलाइन ब्राउजिङ बानीको जाँच गरिएको थियो । तिनीहरूको खोजी गरिएका वेब पृष्ठहरूको भावनात्मक कोण जाँच गरियो । त्यसपछि उनीहरू सबैले आफ्नो वर्तमान मानसिक स्वास्थ्य र अवस्थाबारे खुलेर कुरा गरे । शोधकर्ताहरूले पत्ता लगाए कि कमजोर मानसिक स्वास्थ्यका लक्षणहरू अनुभव गरिरहेका मानिसहरूले नकारात्मक सामग्री प्रायः ब्राउज गरे ।
यी सामग्रीहरू हेरेपछि ती व्यक्तिहरूको मुड बिग्रियो र यसलाई सुधार गर्न उनीहरूले थप नकारात्मक सामग्री खोज्नुपर्ने भयो । यस अध्ययनमा संलग्न प्राध्यापक ताली शारोतले यी नतिजाले नकारात्मक सामग्रीले कसैको मुड बिगार्ने मात्र नभई धेरै मानसिक चुनौती पनि ल्याउने कुरा स्पष्ट पारेको बताएका थिए ।
सामाजिक सञ्जालमा मानिसले कति घण्टा बिताउँछन् ?
विश्वको आठ अर्बभन्दा बढी जनसङ्ख्यामध्ये करिब ५ अर्ब ३ करोड इन्टरनेट प्रयोगकर्ता छन् । चीनमा सबैभन्दा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता छन् तर भारतीयहरूले सबैभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउँछन् । भारतमा अधिकांश मानिसहरू भोक, तिर्खा, निद्रा र सम्बन्धलाई बेवास्ता गर्दै सोसल मिडियामा समय बिताउँछन् ।
नकारात्मक सामग्रीले मानसिक स्वास्थ्यमा असर
सामाजिक सञ्जाल नकारात्मक सामग्रीले भरिएको छ, जसले हाम्रो मस्तिष्कको कार्य क्षमतालाई प्रत्यक्ष असर गर्छ । अझ निराश र रिसाहा प्रवृत्ति भएका व्यक्तिलाई यस्तो सामाग्रीले झन् धेरै असर गर्छ । कोही व्यक्तिले कुनै नकारात्मक सामग्री आफ्नो व्यक्तिगत जीवनसँग मेल खाएको जस्तो अनुभव गर्छ भने उनीहरूलाई त्यसले भावनात्मक रुपमा झन् धेरै असर गर्न सक्छ ।
सामाजिक सञ्जाल सत्य र गलत जानकारीको भण्डार हो । यस्तो अवस्थामा मस्तिष्कमा धेरै प्रकारका सूचनाहरू भण्डार हुन्छन्, जसमध्ये अधिकांश नकारात्मक र काम नलाग्ने हुन्छ । यसले मस्तिष्कको रचनात्मक भागलाई कब्जा गर्छ र यसलाई निष्क्रिय बनाउँछ । जसले गर्दा मानिसको ध्यान कम हुन्छ । हरेक समय सामाजिक सञ्जालमा हेरिएको सामग्रीले कुनै एक कुराको बारेमा शान्त भएर सोच्ने क्षमता घटाउँछ र दिमाग सधैं अव्यवस्थित रहन्छ ।
सामाजिक सञ्जालकै कारण राति अबेरसम्म फोन चलाउने बानी धेरैको छ । कहिलेकाहीं घण्टौंसम्म रिल्स लगायत अन्य सामग्री हेर्दा निद्रामा बाधा पुग्छ । यसले अनिद्रा सम्बन्धी विकारहरू निम्तिन्छ र यसले विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी समस्या पनि निम्त्याउँछ ।
सामाजिक सञ्जालको बढ्दो लत र लगातार त्यहाँ भएका नकारात्मक सामग्रीले डिप्रेसन र एन्जाइटीको समस्या निम्त्याउँछ । भर्चुअल संसारमा बसेर मानिस समाज विरोधी बन्दै जान्छ, जसले मानसिक स्वास्थ्य बिग्रिन्छ ।
सामाजिक सञ्जालमा हुने नकारात्मक सामग्रीले बालबालिकामा झन् धेरै असर गर्छ । सामाजिक सञ्जालमा यदि धुम्रपान वा मद्यपान गरेको फोटो, भिडियो उनीहरूले देखे भने त्यो सिक्न सक्छन् ।
सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने बालबालिकामा व्यवहार परिवर्तन, इन्द्रिय अङ्गले ग्रहण गर्नेभन्दा बढी भाव र व्यवहारको समस्या (सेन्सरी ओभरलोड), ध्यान केन्द्रित हुन नसक्ने समस्या, तनाव एवं कुण्ठाजस्ता गम्भीर भावनात्मक एवं संज्ञानात्मक समस्या निम्ताउँछ ।
सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट कसरी बच्ने ?
सामाजिक सञ्जालको सीमित प्रयोग गर्नुपर्छ । निश्चित समय मात्र सामाजिक सञ्जाल प्रयोग गरियो भने नकारात्मक सामग्रीबाट बच्न सकिन्छ ।
नकारात्मक वा आत्मसंकोच उत्पन्न गराउने सामग्रीबाट टाढा रहने र सकारात्मक, प्रेरणादायी सामग्रीमा ध्यान केन्द्रित गर्नुपर्छ । वास्तविक जीवनका सम्बन्धलाई बलियो बनाउन, प्रत्यक्ष भेटघाट र संवादलाई प्रोत्साहन गर्नुपर्छ । सामाजिक सञ्जालभन्दा वास्तविक सम्बन्धहरूमा ध्यान दिनु मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
यदि सामाजिक सञ्जालको प्रयोगले मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ भने विशेषज्ञहरूबाट मनोवैज्ञानिक परामर्श लिने कुरा महत्त्वपूर्ण हुनसक्छ ।