पछिल्लो समय हलिउड जस्तै भारतीय चलचित्रको पनि लम्बाई बढ्न थालेको छ । यसै क्रममा अर्को साता प्रदर्शनमा आउन लागेको भारतीय अभिनेता अल्लु अर्जुनको चलचित्र ‘पुष्पा–२’को लम्बाई ‘रनीङ टाईम’ ३ घन्टा १५ मिनट तय भएको छ । यस अघि पुष्पाको पहिलो सिक्वेल रिलिज हुँदा चलचित्र लामो भएका टिप्पणी एकथरीका दर्शकको थियो । पुष्पा २ घन्टा ५९ मिनटको थियो । पहिलो भन्दा यसको दोश्रो सिक्वेल १६ मिनट लामो छ ।
पुष्पा मात्र हैन, दुई साता अघि रिलिज भएको भारतीय चलचित्र कँगुवाको लम्बाई पनि तीन घन्टाको थियो । पुष्पा २ लाई ३ घन्टा भन्दा छोटो बनाउन वितरक तथा प्रदर्शकहरुले दिएको सुझाबलाई निर्माण टिमले अश्विकार गरेको छ । चलचित्र घर सञ्चालकको सुविधाको लागि आफुहरुले चलचित्रको लम्बाई नघटाउने यसका निर्देशक सुकुमारले बताएका छन् । यो चलचित्रको लम्बाई सुरुमा तीन घन्टा २० मिटन हुने भनिएको थियो । तर आफुहरुले ६ मिनट घटाएर ३ घन्टा १५ मिनटको बनाएको पनि निर्देशक सुकुमारले स्पष्ट पारेका छन् ।
‘राम्रो चलचित्र भयो भने दर्शकहरुले त्यो चलचित्रको लम्बाई प्रति मतलव गर्दैनन भन्नेकुरा पछिल्लो समय रिलिज भएको ३ घन्टा २१ मिनटको चलचित्र एनिमलले पुष्टी गरिसकेको छ । त्यसैले ३ घन्टा १५ मिनटको पुष्पा २ दर्शकलाई लामो नलाग्ने विश्वास हामीले लिएका छौं ।’ यी निर्देशकले भने ।
पुष्पा २ को लागि दर्शकले कम्तीमा पनि साँढे ३ घन्टाको समय हलमै छुट्याउनु पर्ने हल सञ्चालकहरुले बताएका छन् । चलचित्रको लम्बाई ३ घन्टा १५ मिनटको रहेको र १० मिनटको मध्यान्तर र कम्तिमा ५ मिनटको ट्रेलर (बिज्ञापन) हलमा प्रदर्शन हुने हुँदा यो चलचित्र हेर्नका लागि दर्शकले साँढे तीन घन्टा देखि ३ घन्टा ३५ मिनेटसम्म छुट्याउनु पर्ने पनि हल सञ्चालकहरुले बताएका छन् ।
चलचित्र निकै लामो भएकाले दुई पटकसम्म मध्यान्तर गर्नेगरी रिल बनाउन पनि प्रदर्शकहरुले अनुरोध गरेका छन् । हलिउडको अबतार २ लगायत केही चलचित्र लामो भएकै कारण दुई पटक मध्यान्तर गरिएको उनीहरुको कथन छ । त्यसैले पुष्पा २ लाई दुई पटक मध्यान्तर गर्दा राम्रो हुने हल सञ्चालकको सुझाब आएको भए पनि निर्माण पक्षले सो सुझाबप्रति सहमत जनाएन ।
यस अघि दुई घन्टाको चलचित्र देखाउँदा हलमा ७ वटासम्म शो दिँदै आएका हलले पुष्पा २ लाई एक दिनमा ५ वटा भन्दा बढी सो गर्न गाह्रो हुने पनि बताएका छन् । सोही कारण पनि अरु चलचित्रको भन्दा पुष्पा २ को टिकट केही महँगो गर्नु पर्ने वाध्यता आएको पनि हल सञ्चालकहरुको कथन छ ।
दक्षिण भारतीय स्टार अल्लु अर्जुनको यो महत्वकाँक्षी चलचित्र हो । अहिले यो चलचित्रको चर्चा विश्वव्यापी रुपमा छ । यो चलचित्र ५ डिसेम्बरबाट विश्वव्यापी रिलिज हुँदैछ । चलचित्रको लागत नै ४०० करोड रुपैयाँ भन्दा माथि रहेको छ । यो चलचित्रले भारतमा मात्रै १ हजार करोडको व्यापार गर्ने अनुमान निर्माण पक्षको छ । यसको निर्माण पक्षले चलचित्रलाई राम्रो बनाउन आफुहरुले कुनै कसर बाँकी नराखेको जिकिर गरेको छ । यो चलचित्रमा अल्लु अर्जुनसँगै फहद फासिल, रश्मिका मन्डन्ना, धनन्जय, राव रमेश, सुनील, अनसूया भारद्वाज, अजय घोष तथा पहिलो सृँखलाका विभिन्न कलाकारहरूको अभिनय रहेको छ । चलचित्र विभिन्न ७ भाषामा रिलिज हुँदैछ ।