वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका कर्मचारीहरु व्यक्तिगत पूर्वाग्रहका आधारमा सरुवा गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ, ठाकुरराम इकाइले क्याम्पस प्रशासनले अन्यायपूर्ण रुपमा पटक–पटक एकै व्यक्तिलाई सरुवा गरेको आरोप लगाउँदै तालाबन्दी गरेका हुन्।
व्यक्तिगत रिसिवीका कारण सरुवा?
कर्मचारी संघका ठाकुरराम इकाई अध्यक्ष किशोरी चौधरीका अनुसार क्याम्पस प्रशासनले सरुवा हुनुपर्ने कर्मचारीलाई सरुवा नगर्ने तर, बुधन मुखिया नामका कर्मचारीलाई पटक–पटक विभिन्न शाखामा स्थानान्तरण गर्दै अन्याय गरेको छ। पछिल्लो पटक उनलाई ठाकुरराम बहुमुखी क्याम्पसबाट सिराहा क्याम्पसमा सरुवा गरिएकाले यसको विरोधमा आन्दोलन गरिएको चौधरीले बताए।
क्याम्पस प्रशासनमा तालाबन्दी
आन्दोलित कर्मचारीहरुले क्याम्पस प्रमुख, लेखा, प्रशासन, आईटी, स्टोर, परीक्षा शाखालगायतका कार्यालयहरुमा तालाबन्दी गरेका छन्। उनीहरुले सरुवा प्रक्रिया र निर्णयमा निष्पक्षता नभएको दाबी गरेका छन्।
पदावधि नपुग्दै सरुवा
२०७९ साउन १९ गते त्रिचन्द्र क्याम्पसमा नियुक्त भएका बुधन मुखियालाई २०७९ भदौ ७ गते ठाकुरराम क्याम्पसमा काजमा खटाइएको थियो। त्यसपछि उनलाई लेखा शाखा, परीक्षा शाखा र शिक्षा संकायको फाँट हुँदै हालै सिराहा क्याम्पसमा सरुवा गरिएको छ।
कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष विजय कुश्वाहाका अनुसार ठाकुरराम क्याम्पसमा कर्मचारी अभाव हुँदाहुँदै सिराहा सरुवा गर्नु उचित छैन। कुश्वाहाले तत्काल सरुवा फिर्ता गर्न माग गर्दै आन्दोलन जारी रहने बताएका छन्।
क्याम्पस प्रमुखसँग सम्पर्क असफल
यस विषयमा बुझ्न क्याम्पस प्रमुख रञ्जीत यादवलाई सम्पर्क गर्दा उहाँको मोबाइलमा आगमन कल रोक लगाइएको पाइएको छ।
कर्मचारीहरुले सरुवा प्रक्रिया पुनरावलोकन गर्न र अन्यायपूर्ण निर्णय सच्याउन प्रशासनलाई चेतावनी दिएका छन्। घटनाले क्याम्पसको प्रशासनिक कामकाज ठप्प बनेको छ।