विराटनगर । कोशीका तीन जिल्लामा सार्वजनिक सवारी साधनका लागि शनिबारदेखि ‘टाइम कार्ड’ लागू गरिएको छ । तराई क्षेत्रमा पर्ने सुनसरी, मोरङ र झापामा सवारी साधनका लागि टाइम कार्ड लागू गरिएको हो ।
सवारी दुर्घटनाको संख्या बढेपछि शनिबारदेखि टाइम कार्ड लागू गरिएको प्रहरीले जनाएको छ । मोरङको सुन्दरहरैँचा–७, गछिया चौकमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले टाइम कार्डको सुरुवात गरेका हुन् ।
पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनलाई लक्षित गरी सुनसरी, मोरङ र झापामा टाइम कार्ड लागू गरिएको जनाइएको छ ।
यो नियम लागू भएपछि विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेटको समयावधि तोकिएको छ । इटहरीदेखि धरानसम्म २० किलोमिटर दूरीका लागि ३८ मिनेटको समयावधि तोकिएको छ ।
यसैगरी, काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ भने झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि एक घण्टाको समय निर्धारण गरिएको छ ।
तीव्र गतिमा नकुदाइ यात्रुबाहक सवारी साधनहरुले तोकिएको समय पूरा गर्नुपर्ने जनाइएको छ । प्रहरीले ठाउँ ठाउँमा नियम पालना गरे, नगरेको जाँच गर्नेछन् । नियम पालना नगरेको पाइए कारबाही गरिने प्रहरीले जनाएको छ ।
टाइम कार्ड लागू गर्नेबारे गत महिना झापाको चन्द्रगढीलगायत स्थानमा सरोकारवालाबीच छलफल भएको थियो । त्यस क्रममा दुर्घटना कम गर्नका लागि सार्वजनिक यातायातका सवारी साधनलाई ‘टाइम कार्ड’ को व्यवस्था गर्न यातायात व्यवासायीहरू सहमत भएका थिए ।
बस र अन्य सार्वजनिक यातायातका साधनको ठक्करले मानिसको मृत्यु हुने घटना बढिरहेकाले टाइम कार्ड लागू गर्न लागिएको कार्यक्रममा जनाइएको थियो ।
कार्यक्रममा यातायात व्यवसायी विष्णकुमार श्रेष्ठले टाइम कार्ड लागू भए दुर्घटना न्यूनीकरण हुनेमा विश्वस्त रहेको बताए । २०७६ सालमा लागू भएको टाइम कार्ड केही महिनापछि हटेको स्मरण गर्दै उनले त्यो बेला दुर्घटनाको संख्या निकै कम भएको सुनाएका थिए ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले झापा, मोरङ र सुनसरी जिल्लामा एकैसाथ लागू गर्दा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उल्लेख गरेका थिए।