धेरैजसोले कार्बोहाइड्रेटलाई तौल बढाउने कारण मान्छन् । त्यही कारण उनीहरु आफ्नो छाकबाट कार्बोहाइड्रेटयुक्त खानेकुरा कटौती गर्छन् । के वास्तवमा यो सही हो त ?
कतिले भनिरहेका हुन्छन् ‘कार्बोहाइड्रेटयुक्त खानेकुरा छाडेपछि उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग समेत निको हुन्छ ।’ के वास्तवमै शरीरका लागि कार्बोहाइड्रेट जरुरी छैन ? कार्बोहाइड्रेटको सेवनले तौल बढाउँछ वा यसले स्वास्थ्यमा कुनै नकारात्मक असर पार्न सक्छ ?
कार्बोहाइड्रेटको मात्रा कम गर्नु स्वास्थ्यका लागि हानिकारक होइन । तर कार्बोहाइड्रेट पूर्ण रूपमा त्याग्नु उचित हुँदैन । कार्बोहाइड्रेट तीन म्याक्रोन्युट्रिएन्टमध्ये एक हो । बोसो र प्रोटिनका साथै शरीरलाई दैनिक कार्यका लागि पनि कार्बोहाइड्रेट चाहिन्छ । यस्तो अवस्थामा यसको सेवन पूर्णतया बन्द गर्नाले समस्या बढ्न सक्छ ।
ऊर्जाको कमी
र्बोहाइड्रेट शरीरको ऊर्जाको सबैभन्दा महत्त्वपूर्ण स्रोत हो । यदि पर्याप्त कार्बोहाइड्रेट उपभोग गरिएन भने यसले अक्सर थकान, कमजोर र सुस्त महसुस गराउँछ ।
पोषणको कमी
धेरै कार्बोहाइड्रेटयुक्त खानेकुरा छन्, जसमा फाइबर, भिटामिन, पोटासियम, म्याग्नेसियम जस्ता खनिज हुन्छन् । यदि कार्बोहाइड्रेट पूर्ण रुपमा त्यागियो भने स्वास्थ्यलाई आवश्यक पर्ने तत्वबाट टाढा भइन्छ । यसरी शरीरमा पोषक तत्वको कमी हुनसक्छ ।
आन्द्राको समस्या
फाइबरयुक्त कार्बोहाइड्रेटहरू, जस्तै सम्पूर्ण अन्न, फलफूल र तरकारी पेटको स्वास्थ्यका लागि राम्रो हुन्छ । यिनको सेवनले दिसा त्याग प्रक्रियालाई सहज बनाउँछ र कब्जियतको समस्या कम हुन्छ । फाइबरको कमीले पाचन समस्या निम्त्याउन सक्छ ।
मस्तिष्क विकार
कार्बोहाइड्रेट मस्तिष्क ऊर्जाको मुख्य स्रोत हो । मस्तिष्क विभिन्न संज्ञानात्मक कार्य गर्नका लागि ग्लुकोज, कार्बोहाइड्रेटबाट उत्पन्न हुने ग्लुकोजमा निर्भर हुन्छ । पर्याप्त मात्रामा कार्बोहाइड्रेट सेवन नगर्दा थकान, ध्यानको कमी लगायत मानसिक समस्या निम्त्याउन सक्छ ।
धेरै भोक लाग्ने
कार्बोहाइड्रेटलाई पूर्ण रुपमा छोड्दा खाना खाएपछि छिनमै भोक लाग्ने हुन्छ । कार्बोहाइड्रेटले रगतमा चिनीको स्तरलाई नियमन गर्ने भएकाले यसको कमीले रगतमा चिनीको स्तर घट्न सक्छ र धेरै भोक लाग्छ ।
समग्र स्वास्थ्यमा प्रभाव
आफ्नो आहारबाट काब्रोहाइड्रेट जस्ता महत्त्वपूर्ण पोषक तत्व हटाउँदा समग्र स्वास्थयमा नै नकारात्मक असर पुर्याउन सक्छ । शरीरमा पोषक तत्वको सन्तुलनमा गडबड भई विभिन्न रोगको जोखिम हुन्छ ।
शरीरलाई दैनिक कति कार्बोहाइड्रेट ?
शरीरका लागि सामान्यतया ५० देखि ६० प्रतिशत कार्बोहाइड्रेट आवश्यक हुन्छ । तर शरीरको आवश्यकता अनुसार मान्छेमा कार्बोहाइड्रेटको मात्रा फरक पर्न जान्छ । शारीरिक रूपमा गरिने काम जस्तै भारी बोक्ने व्यक्तिलाई ६० प्रतिशत कार्बोहाइड्रेट आवश्यक पर्छ भने शारीरिक काम नगर्ने अर्थात् दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई ४० प्रतिशत कार्बोहाइड्रेटले नै पुग्छ ।
कार्बोहाइड्रेटको मुख्य स्रोत
कार्बोहाइड्रेट सिम्पल र कम्प्लेक्स गरी दुई थरीका हुन्छन् । कम्प्लेक्स कार्बोहाइड्रेट विशेषगरी दूध, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, जौ, गहुँ, मकै, कोदो, चिनी, आलु, चामल, उखु, चुकन्दर, खजुर र केरा जस्ता अन्न तथा फलफूलमा पाइन्छ ।
कोल्ड ड्रिंक, चिनी, चकलेटमा पनि कार्बोहाइड्रेट पाइन्छ तर यी खानेकुराले ब्लड सुगरलाई ह्वात्तै बढाउँछ । त्यसैले यस्ता कार्बोहाइड्रेटयुक्त खानेकुरा भने मधुमेहका बिरामीले सेवन नगर्नु नै उपयुक्त हुन्छ ।
समग्रमा कार्बोहाइड्रेट शरीरका लागि आवश्यक तत्व भएकाले यसलाई छाकबाटै हटाउने भन्दा पनि सन्तुलित मात्रामा सेवन गर्नुपर्छ ।