गुलरिया । लुम्बिनी प्रदेश सांसद कृष्णकुस्मा थारु, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्ट र ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले एउटै वडाबाट मतदान गरेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदको लागि उपनिर्वाचन भइरहेको छ ।
सांसद थारुले र जिसस प्रमुखले बबई शिसु मन्दिर आधारभूत विद्यालय बर्गदा मतदान केन्द्र र ठाकुरबाबा नगरपालिकाका नगरप्रमुखले कृषि सेवा केन्द्र भवनबाट मतदान गरेको नेपाल पत्रकार महासंघ बर्दियाका प्रवक्ता एवम् उपाध्यक्ष चिरञ्जीवी योगि (भावुक) ले जानकारी दिए । उनका अनुसार दुवै मतदान स्थलमा शान्तिपूर्ण तरिकाबाट बिहानैदेखि मतदान जारी छ।
बर्दियामा एउटा मात्र वडाध्यक्ष पदको निर्वाचनको लागि २ वटा मतदान स्थलमा ५ वटा मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा रहेको कृषि सेवा केन्द्र भवन मतदान स्थलका २ वटा मतदान केन्द्रमा १ हजार १३७ मतदाता र बबई शिशु मन्दिर आधारभूत विद्यालय बर्गदा मतदान स्थलको ३ वटा मतदान केन्द्रमा २ हजार ३ सय ७३ गरी कुल ३ हजार ५१० मतदाता रहेका छन् । निर्वाचन सम्पन्न गर्नका लागि प्रत्येक केन्द्रमा १ जना स्वयं सेवकसहित ६ जना कर्मचारी तथा २ वटा मतदान स्थलमा ३९ जना सुरक्षाकर्मी परिचालन भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले बताए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को रिक्त रहेको वडाध्यक्ष पदको लागि ६ वटा दलले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबार हुने निर्वाचनको लागि शनिबार राति १२ बजेदेखि आइतबार बेलुकी ७ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जारी भएको पास बाहेक अन्य सार्वजनिक, नीजि,सरकारी दुई पाङग्रे, तीन पाङग्रे र ४ पाङग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निर्वाचनलाई स्वच्छ,निष्पक्ष र प्रभावकारी बनाउन सुरक्षा समितिको निर्णय अनुसार निर्वाचन हुने मार्गहरूमा सवारी आवागमनमा रोक लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को तत्कालिन वडाध्यक्ष सूर्यबहादुर विष्ट जिल्ला समन्वय प्रमुख पदमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो । मतदान लगत्तै बुझाइएका मतपेटिका संकलन भएपश्चात दलहरुको सहमतिमा मतगणना गरिने बताइएको छ ।
विभिन्न कारणले रिक्त रहेका जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख र उपप्रमुख १/१ तथा वडाध्यक्ष २४ गरी ४१ रिक्त पदमा आज मतदान हुँदैछ । केही पदमा र्निविरोध भएको छ ।