जनकपुरधाम । प्राचीन मिथिलाको राजधानी एवं मधेश प्रदेशको राजधानी जनकपुरधाममा विवाहपञ्चमीको रौनक सुरु भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक महìवको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहपूर्वक तयारीमा जुटेका छन् ।
त्रेतायुगको ऐतिहासिक विवाहलाई स्मरण गर्दै प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवलाई सभ्य र भव्य बनाउन जानकी मन्दिर परिवार, जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रदेश सरकार, युवा क्लब तथा स्थानीयवासी उत्साहका साथ तयारीमा जुटेका हुन् ।
पाँच वर्षको अन्तरालमा पञ्चवर्षीय महामहोत्सवमा विशेष रूपमा भारत उत्तरप्रदेशको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने हुँदा उत्साह अझै थपिएको र विशेष व्यवस्था गरिने जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास वैष्णवले बताउनुभयो । उहाँले भगवान् राम र माता सीताको पौराणिक विवाह उत्सवलाई जीवन्त बनाउन अहिले चहलपहल र उत्साहले भरिएको बताउनुभयो ।
उहाँले पञ्चवर्षीय विवाह महामहोत्सवको तयारीलाई व्यवस्थित बनाउन सम्पूर्ण मिथिलावासी लागि परेको बताउँदै भन्नुभयो, “यो मिथिलाको धार्मिक, सांस्कृतिक उत्सवसँग जोडिएको पर्व हो । जसको तयारीमा प्रत्येक नागरिक खुला मनले लाग्ने गर्छन् र अयोध्याबाट आएका पाहुनाका लागि खाना तथा बासको व्यवस्था पनि पूर्ण रूपमा हाम्रो जिम्मेवारी हो ।” यहाँको मारवाडी सेवा समिति, कलवार कुटी, सुडी कुटी, रौनियार सेवा समितिले आवासको व्यवस्था गरेका छन् भने उक्त स्थानमा भोजनको व्यवस्था जानकी मन्दिरका तर्फबाट आयोजना हुने महन्तका उत्तराधिकारी दासले जानकारी दिनुभयो ।
उहाँका अनुसार विवाहपञ्चमीका अवसरमा स्थानीय सरकार तथा युवा क्लबहरू पनि तयारीमा जुटेका छन् । यहाँका चौक चौराहा, मठमन्दिर पनि सजाउन थालिएको छ ।
उपमहानगरपालिकाको तयारी
जनकपुरधाम उपमहानगरपालिका पनि विवाहपञ्चमी तयारीमा तीव्रता दिएको छ । नेपाल र भारतलगायत विभिन्न देशबाट लाखौँ तीर्थयात्री र पर्यटकको आगमन हुने भएकाले उपमहानगरपालिकाले व्यवस्थापनका लागि विभिन्न उपाय अपनाएको छ । रङ्गभूमि मैदानमा हुने धनुष यज्ञका लागि पाँच सय दर्शनार्थी क्षमताको मञ्च व्यवस्थापनको कार्य भइरहेको छ भने श्रद्धालु भक्तजनको विश्रामका लागि धनुष यज्ञ मञ्चभन्दा दक्षिणतर्फ पाँच हजार श्रद्धालु अटाउने क्षमताको विश्रामस्थल निर्माण गरिँदै छ । तिरहुतिया गाछीमा पनि विश्रामका लागि पन्डाल लगाउने तयारी भइरहेको नगरप्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो । अयोध्याबाट आएका पाँच सय जना जन्तीका लागि कलवार कुटीमा व्यवस्था गरिने बताउनुभयो ।
यस्तै यातायात व्यवस्थापनका लागि जनकपुरधाम प्रवेश गर्ने मुख्य चार वटा नाकामा ठुला सवारीसाधन व्यवस्थित गरिने छ । जटही नाकाबाट आउने सवारीसाधनलाई हनुमाननगर, मुजेलिया भएर आउने सवारीलाई कभर्ड हल, पुलचोकबाट आउनेलाई बावन बिघा र कपिलेश्वर भएर आउनेलाई सवारीलाई कपिलेश्वरको अस्थायी बसपार्कमा राख्ने व्यवस्था मिलाइएको नगरप्रमुख साहले बताउनुभयो ।
यसै गरी उपमहानगरपालिकाले विभिन्न स्थानमा एक सयभन्दा बढी अस्थायी शौचालयको व्यवस्था गरिएको छ भने उपमहानगर, जानकी मन्दिर तथा युवा क्लब र सुरक्षा निकायको समन्वय र सहकार्यमा विवाहपञ्चमीलाई व्यवस्थित बनाउने तयारीमा जुटेको बताउनुभयो । उपमहानगरले एक सय एनसिसी क्याडर र पाँच सय स्वयंसेवक परिचालन गर्ने उहाँले बताउनुभयो ।
ट्राफिक कार्यालयको भूमिका
विवाहपञ्चमी महामहोत्सवमा सवारीसाधन र दर्शनार्थीको चाप बढ्ने हुँदा व्यवस्थित गर्न धनुषा ट्राफिक कार्यालयले विशेष व्यवस्था मिलाएको छ । जस अन्तर्गत कार्यालयको सामाजिक सञ्चालनमा सवारीसाधन पार्किङ स्थलको नक्सा नै पोस्ट गर्ने योजना गरेको छ भने ट्राफिक व्यवस्थापनका लागि १४० जना ट्राफिक प्रहरी परिचालन गरिने योजना छ ।
ट्राफिक कार्यालय धनुषाका प्रमुख हरिबहादुर ओलीले नगरभित्र स्थायी पार्किङ स्थल नहुँदा सवारीसाधन व्यवस्थापनमा थप चुनौती थपिएको बताउनुभयो । ढल्केबर भएर प्रवेश गर्ने सवारीसाधनका लागि मुजेलियामा ब्यारिगेट लाग्छ र कभर्ड हलमा पार्किङको व्यवस्था हुन्छ । साना सावारीसाधन जस्तै, चारपाङ्ग्रे, बाइकलाई पिडारी चोकसम्म आउने दिने, चव्रmपथबाट कुनै पनि सवारीसाधन भित्र छिर्दैनन् ।
एम्बुलेन्स र भिआइपी व्यक्तिका लागि छुट्टै रुट निर्धारण गरिएको छ । सिटी होटेल, प्रदेश कार्यालय, बाह्र बिघाको उत्तर गेट हुँदै प्रादेशिक अस्पतालसम्म एम्बुलेन्सको व्यवस्था गरिएको छ भने पुलचोक भएर आउने ठुला सवारीसाधनलाई त्यहीको अस्थायी बसपार्कमा राख्ने व्यवस्था गरिएको छ । कदम र भानुचोकबाट कुनै पनि सवारीसाधन भित्र प्रवेश गर्न पाउँदैनन् ।
जटही नाकाबाट प्रवेश गर्ने सवारी छ लेनमा एकतर्फी मिलाएर पार्किङ गरिने र साना सवारी मुरली चोकसम्म आउन दिने व्यवस्था छ । त्यस्तै झाँकीसहितको सवारीसाधन तिरहुतिया गाछीमा राखिने छ । भिट्ठामोड नाकाबाट आउने सवारीलाई बेला पुलनजिक सडकछेउमा मिलाएर राखिने छ भने कुर्थाबाट आउने सवारीलाई बलुवा प्रहरी चौकी क्षेत्रमा राखिने व्यवस्था गरिएको छ । यो व्यवस्था विशेष गरी यही २० र २१ गतेका लागि लागु गरिने छ तर श्रद्धालुको भिड १९ गते बेलुकादेखि नै सुरु हुन्छ ।
यस विवाहपञ्चमी महोत्सवलाई सभ्य र भव्य बनाउन १४ सयभन्दा बढी जनशक्ति परिचालन गरिने छ । अयोध्याबाट आउने जन्तीलाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा बनाएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । दुई जना डिएसपी, एक इन्सपेक्टर र एक वरिष्ठ सईको कमान्डमा चार वटा टोली परिचालन गरिने उहाँले बताउनुभयो । आउटर र इनर गरी सात सेक्टरमा विभाजन गरी एक हजार ४५१ प्रहरी र ७५० भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने योजना रहेको प्रहरी प्रमुख तिवारीले बताउनुभयो ।
पाहुनालाई कम्बल वितरण गर्ने
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अली मियाँले मधेश सरकारले मन्त्रालय परिसरको पर्खालमा विवाहपञ्चमीलक्षित मिथिला चित्रकला बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अयोध्याको चित्रकलाले मोहित भएर यहाँ पनि मिथिला चित्रकलाकै माध्यमबाट रामजानकी विवाह झल्किनु पर्छ ।” विवाहपञ्चमी महामहोत्सवलाई भव्य बनाउन सौन्दर्यका लागि मिथिला चित्रकला, विभिन्न पाँच स्थानमा पन्डाल, खानेपानी तथा दुई सय अस्थायी शौचालयलगायतको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भारतबाट आएका प्रतिपाहुुनालाई एक÷एक थान गरी छ सय कम्बल वितरण गरिने बताउनुभयो ।
यसरी मनाइन्छ विवाहपञ्चमी
मङ्सिर १६ गते आइतबार नगर दर्शन, १७ गते पुष्पवाटिका फूलबारी लीला, १८ गते धनुष यज्ञ र बारात आगमनको स्वागत, १९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजनापछि महोत्सव सम्पन्न हुने छ । अयोध्याबाट आएका अतिथिलाई २३ गते ससम्मान बिदा गरेपछि उहाँहरू अयोध्या फर्किने कार्यव्रmम रहेको छ ।