बर्दिबास । वडाध्यक्षको उपनिर्वाचनका लागि रामगोपालपुर –२ मा निर्धारित समयमा मतदान सुरु भएको छ । वडाको मोहनपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विधालयको मतदानस्थलमा विहानैदेखि मतदाताको लाम लागेको छ ।
मूख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले शान्तिपूर्ण तथा उत्साहाजनक रुपमा मतदान भइरहेको बताउनुभयो । मतदानस्थलबाट जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जनाएअनुसार अहिले विहान ११ बजेसम्म कूल मतदाताको ३० प्रतिशत अर्थात ६४५ जनाले मतदान गरेका छन् ।
मतदान केन्द्र (क) मा ३६८ र (ख) मा २७७ जनाले मत खसालेका छन् । उपनिर्वाचन भइरहेको वडा २ मा ९४० महिलासहित दुई हजार १४१ जना मतदाता रहेको उहाँले बताउनुभयो ।
मतदान केन्द्रमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी देखिएको छ । ग्रामीण भेग भएकाले घुम्टो ओढेर मत खसाल्न आउने महिलाका संख्या पनि अत्यधिक दखिएको छ । ज्येष्ठ नागरिक र असक्तसमेत आफन्तका सहारामा मतदान केन्द्र पुगेका छन् ।
मतदाताको उत्साहजनक उपस्थितिले उम्मेदवार पनि आफनो जीतप्रति विश्वस्त देखिएका छन् । दक्षिणी भेगमा विहान चीसो बढे पनि मतदान सकेर कामकाजमा जान मतदाताहरु विहान साढे ६ बजेदेखि नै मतदानस्थल पुग्न थालेका थिए ।
अनुकूल मौसम तथा प्रशासन र सुरक्षा निकायले शान्तिपूर्ण निर्वाचनका लागि भरपर्दो ब्यवस्था मिलाएकाले पनि वुथमा मतदाताको लाम लागेको छ । उपनिर्वाचन महोत्तरीको एउटा वडामा मात्र हुन लागेकाले सवैको ध्यान अहिले रामगोपालपुर –२ मा केन्द्रित भएको छ ।
प्रमुख जिल्ला अधिकारी लालवावु कवाडीले उपनिर्वाचन हुने वडा तथा आसपासका क्षेत्रमा मिश्रित समुदायको वसोवासका साथै नजिकै भारतीय भूभाग पर्ने भएकाले निर्वाचनलक्षित अवाञ्छित गतिविध हुन नदिन उच्च सर्तकता अपनाइएको बताउनुभयो ।
प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार मतदान भइरहेको वडा भारतीय सीमानजिक भएकाले निर्वाचन अवधीभरका लागि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । रामगोपालपुर २ का वडाध्यक्ष मुकेश यादवको भदौ ९ गते मोटर साइकल दुर्घटनामा मृत्यु भएका कारण उपनिर्वाचन हुन लागको हो । उपनिर्वाचनमा ८ राजनीतिक दल र १० स्वतन्त्र गरी १८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।