सर्लाही । वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालन गर्नको लागि डा. महावीर पुनले पुस्तक बिक्री अभियानलाई तीव्र बनाएका छन्। पाँच दिनदेखि सर्लाहीमा पुस्तक बिक्री गरिरहेका डा. पुनले आज मलंगवा नगरपालिका र हरिपुर नगरपालिकामा पुस्तक बिक्री गरेका छन्।
मलंगवा नगरपालिकामा भएको कार्यक्रममा बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहा, शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि सुनिल कुशवाहा, पत्रकार पवन कुशवाहा र राधेश्याम कुशवाहालगायतले डा. पुनको जीवनगाथा समेटिएको पुस्तक खरिद गरेका छन्।
डा. पुनले तीन लाख पुस्तक बिक्री गरेर कृषि औजार कारखाना सञ्चालन गर्न आवश्यक कोष जुटाउने लक्ष्य राखेका छन्। हालसम्म एक लाख ४० हजारभन्दा बढी पुस्तक बिक्री भइसकेको जानकारी उनले दिए। सर्लाहीमा मात्र तीन हजारभन्दा बढी पुस्तक बिक्री भएको छ भने आगामी १० दिनसम्म सर्लाहीका विभिन्न पालिकामा पुस्तक बिक्री गर्ने योजना रहेको उनले बताए।
यस क्रममा लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, र मलंगवामा पुस्तक बिक्री भइसकेको छ। बाँकी पालिकामा निम्तो अनुसार पुस्तक बिक्री गरिने डा. पुनले जानकारी दिए।
“कृषि औजार कारखाना तुरुन्त सञ्चालन गर्न अहिले पैसा आवश्यक परेकाले म हतोहात किताब बिक्री गर्दैछु,” उनले भने। यस कारखानाले नेपालका ग्रामीण किसानलाई स्वदेशमै उत्पादन भएका आधुनिक कृषि औजार उपलब्ध गराउने लक्ष्य राखेको छ। चीन र भारतबाट आयात भइरहेका कृषि औजारमध्ये कम्तिमा १० प्रतिशत स्वदेशमै उत्पादन गर्न सके ठूलो मात्रामा पुँजी देशभित्रै रोक्न सकिने डा. पुनको विश्वास छ।
यो अभियानले ग्रामीण किसानलाई आत्मनिर्भर बनाउन तथा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित देशभरका जनतालाई जोडिरहेको छ।