आम मान्छेमा के धारणा छ भने मोटोपनको कारण खानपान नै हो । त्यसैले आफ्नो थालीबाट खानेकुराको मात्रा घटाएपछि पेटको बोसो पनि घट्छ भन्ने बुझाइ छ ।
ती व्यक्तिले खाना त थोरै खान्छन् तर धेरै क्यालोरी भएको खाना खान्छन् । कसैले बिहानको खाजामा एक कप चिया र एक सानो प्याकेट बिस्कुट खान्छन् भने त्यसले उनीहरूको पेट त भर्दैन तर उनीहरूले ५७० क्यालोरी खाइरहेका हुन्छन् । यो खानाबाट प्राप्त गर्नुपर्ने पोषण तत्त्व पनि पाइँदैन, क्यालोरी मात्र पाइन्छ ।
बिहान तीनवटा अण्डा र एक कचौरा फलफूल खाने हो भने खानाको क्यालोरी भने ४०० भन्दा कम हुन्छ । साथै त्यसले पेट पनि भरिन्छ । त्यो खानामा प्रोटिन, भिटामिन, मिनरल्स सबै हुन्छ । सागसब्जी, सलाद, तरकारीमा एकदमै कम क्यालोरी हुन्छ । त्यसैले तौल बढ्दैन ।
मोटोपनको सामान्य कारण भनेको खानामा सामान्य काब्रोहाइट्रेडको मात्रा धेरै खानु हो । मैदाबाट बनेको खानेकुरा विशेषगरी जंकफुड, फास्टफुड खाने चलन बढी छ, जसमा काब्रोहाइड्रेट र क्यालोरी मात्र धेरै हुन्छ ।
थोरै कुरकुरे त खाको हो नि भन्छन् मान्छेहरू । तर त्यसमा २०० देखि ३०० क्यालोरी हुन्छ । यसरी थोरै थोरै गरेर धेरै क्यालोरी भएको खाना खाँदा मोटोपन बढ्छ ।
मोटोपन नियन्त्रण गर्न कस्तो खाना कति खाने ?
आजभोलि प्राय: सबैको हातहातमा मोबाइल हुन्छ । गुगल गरेर कति क्यालोरी खाना खाने भन्ने कुरा थाहा पाउन सकिन्छ । तौल नियन्त्रण गर्न कम क्यालोरी भएका खाना खानुपर्छ । साग, सलाद, तरकारी र अमिलो जातको फलफूलमा कम क्यालोरी हुन्छ ।
खाना खाँदा साग, सलाद तरकारी पहिले खाएर अन्य खानेकुरा पछि खाइयो भने पनि अरू खानालाई साग सलादको तहले सन्तुलन गर्छ । तर हामी पहिले टन्न मासु भात खान्छौं अनि अन्तिममा दुई पिस सलाद खान्छौं भने त्यसले सन्तुलन हुँदैन ।
पहिले टन्न तरकारी साग सलाद खाएर पछि थोरै मासु भात खाइयो भने पेट भरिन्छ । मासु भातको क्यालोरीलाई तरकारी सलादको फाइबरले कोटिङ गर्छ र आन्द्रामा सोस्न दिंदैन । जसले तौल नियन्त्रण हुन्छ ।
हामीले खाने चाउचाउ, बिस्कुट, भात, मःम, चाउमिन जस्ता खानेकुरा सामान्य काब्रोहाइट्रेड हुन्, जुन शरीरमा गएर सिधै बोसो बन्छ ।
काब्रोहाइड्रेटयुक्त खाना शरीरमा पुगेपछि ग्लुकोजमा रूपान्तरण हुन्छ । ग्लुकोज बोसोको रुपमा संग्रहित हुन्छ । यही बोसो नै ऊर्जाको स्रोत हो । जब हामी शारीरिक वा मानसिक गतिविधि गर्छौं, बोसो ऊर्जामा रूपान्तरण हुन्छ । यदि हाम्रो शारीरिक गतिविधि भएन भने यो बोसो जमेर बस्छ । कालान्तरमा यही नै मोटोपनको समस्या बन्छ ।
लामो समय व्यायाम गर्दा भन्दा पटक-पटक थोरै थोरै व्यायाम गर्दा तौल नियन्त्रण हुन्छ । हामीले बच्चालाई पनि उदाहरणको रुपमा हेर्न सक्छौं । बच्चाहरू एकै ठाउँमा बस्दैनन्, कहिले यता कुद्छन् कहिले उता । त्यसैले उनीहरू सक्रिय र पातलो हुन्छन् ।
थोरै खाना खाएर हैन, भरपेट खाना खाएर तौल नियन्त्रण गर्न सकिन्छ
प्रोटिनयुक्त खानेकुरा टन्न खाएर पनि तौल नियन्त्रणमा राख्न सकिन्छ । टुसा उम्रेको गेडागुडी, तोफु, अण्डा, माछामासु जस्ता प्रोटिनयुक्त खानेकुरा शरीरलाई पचाउन समय लाग्ने भएकाले छिट्टै बोसोमा परिणत हुँदैन । साथै छिट्टै भोक पनि लाग्दैन । त्यसैले यस्ता खाना पेटभर खाएर पनि तौल नियन्त्रणमा राख्न सकिन्छ ।
थोरै थोरै धेरै पटक उच्च क्यालोरी भएको खाना खाँदा तौल घट्दैन, बढ्छ । तर प्रोटिनयुक्त खाना पेटभर खाएर पनि तौल नियन्त्रण हुन्छ ।
भात नै नखाई हुन्न भन्नेहरूका लागि
मलाई त भात नै खानुपर्छ भात खाएर तौल नियन्त्रण गर्न पाए हुन्थ्यो भन्ने पनि धेरैलाई लाग्न सक्छ । त्यस्ता व्यक्तिले भातमा क्यालोरी कम गरेर पनि केही मात्रामा तौललाई नियन्त्रण गर्न सक्छन् ।
भातलाई पकाएर तात्तातो नखाएर १२ देखि २४ घण्टा फ्रिजरमा राख्न सकिन्छ । भात भनेको स्टार्च हो तर त्यसलाई फ्रिजरमा राखेपछि रेजिस्टेन्स स्टार्च बन्छ । रेजिस्टेन्स स्टार्च पचाउने इन्जाइम शरीरमा हुँदैन । त्यो रेजिस्टेन्स स्टार्च आन्द्रामा पुगेपछि आन्द्राको कीटाणुको लागि खाना बन्छ र बोसोको रुपमा जम्मा हुँदैन । त्यसैले यसरी भातलाई फ्रिजरमा राखेर ३० प्रतिशतसम्म क्यालोरी कम हुन्छ ।
यो फर्मूला रोटी र आलुमा पनि लागु हुन्छ । यसको अर्थ सडेको खानु भन्ने होइन । त्यसलाई नबिग्रने गरी राखेर काब्रोहाइड्रेट कम गरेर खाने हो ।
बाहिरको खाना जति खाए पनि खाऊँ खाऊँ लाग्नुको कारण
रेस्टुरेन्ट वा होटलमा पिज्जा, मःम, चिप्स, फ्राइ राइस जुन जति खाए पनि खाऊँ खाऊँ लाग्छ । त्यसको पछाडि एउटा कारण छ, त्यहाँ सबै खाना काब्रोहाइड्रेटयुक्त हुन्छन् । ती खानेकुरा खाएको ४५ मिनेटभित्रै पच्छ र फेरि भोक लाग्छ ।
साथै बाहिरको खाना स्वादिलो हुन्छ । त्यसमा विभिन्न किसिमको मिश्रण हुन्छ, जसले जिब्रोलाई लोभ्याउँछ । बाहिरको खाना खाँदा त्यसको स्वादले डोपामाइन हार्मोन बढाउँछ र यस्ता खाना खाइरहन मन लाग्छ । अनि यस्ता बाहिरको खाना धेरै खाँदा तौल बढ्छ ।