भारतीय फिल्म ‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा न्यूनतम ३ करोड रुपैयाँभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ४२० थ्रीडी र १७१ टुडी संस्करणका शोसहित बिहीबारदेखि यो फिल्म नेपालमा रिलिज हुँदैछ ।
फिल्मले पहिलो दिनमा कुल ५९१ शो पाएको छ । यो शो संख्या नेपालमा कुनै फिल्मले पाएको अहिलेसम्मकै सर्वाधिक संख्या हो । ओपनिङ कमाइमा अधिकांश हिस्सा थ्रीडी संस्करणको हुनेछ । एक थ्रीडीको औसत टिकट मूल्य ४५० हाराहारीमा हुन आउँछ ।
थ्रीडी र टुडीको हिसाब गर्दा पहिलो दिन ८० हजारदेखि १ लाख दर्शकले यो फिल्म हेर्ने अनुमान छ । अग्रिम टिकट बिक्रीको ट्रेन्ड हेर्दा बिहीबारका सबै शो शतप्रतिशत हुनेतर्फ अग्रसर छन् । बिहानी, दिउँसो र बेलुकाका सबै शो हाउसफुल छन् ।
वान सिनेमाजले बिहान साढे ४ बजे, बिग मुभिजले बिहान ४:१५, लबिम लगायतका हलले राति ११:४५ बजेको समेत शो दिएका छन् । यसको अर्थ ‘पुष्पा २’ चौबीसै घण्टा हलमा चल्नेछ । रनटाइम नै ३ घण्टा १५ मिनेटको भएकाले हलको ब्रेक जोड्दा पौने ४ घण्टा दर्शकले हलमा बिताउनुपर्नेछ ।
हलले बिहान ४ बजेदेखि राति १२ बजेसम्म नै शो दिएका छन् । फिल्मले बिहीबार, शुक्रबार र शनिबारसम्म मात्र ६ देखि ७ करोडसम्म कलेक्सन गर्ने अनुमान छ । किनभने, बिहानी शोको टिकट रेट आधा हुन्छ । यसले ग्रस कलेक्सन प्रभावित हुन्छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको हलको सूचीअनुसार ‘पुष्पा २’ देशभरका सबै १६६ हलमा प्रदर्शन हुनेछ । ‘पुष्पा २’ प्रदर्शनलाई नियमन गर्न चलचित्र विकास बोर्डले पूर्वदेखि पश्चिमसम्मका हलमा कर्मचारी खटाउने तयारी थालेको छ ।