जनकपुरधाम । जनकपुरधामको विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित, प्रभावोत्पादक र भव्य तुल्याउन मधेश प्रदेश सरकारले आवास, खानेपानी तथा शौचालय व्यवस्थापन गरेको छ ।
रामजानकी विवाह हुने मंसिर २१ गतेका दिन जनकपुरधाममा लाखौँको सँख्यामा मेला भर्न आउने श्रद्धालुभक्तजन तथा साधुसन्तका लागि उचित तथा पर्याप्त सुविधा उपलब्ध गराउनेगरी प्रदेश सरकारले सहरका विभिन्न ठाउँमा अस्थायी आवास, खानेपानी तथा शौचालयजस्ता संरचना निर्माण गराएको छ ।
विवाहपञ्चमी महोत्सवका बेला दर्शनार्थीहरूलाई हुने अप्ठ्यारालाई दृष्टिगत गरी प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले धार्मिक पर्यटकका लागि आवश्यक संरचना निर्माण, वैवाहिक विधि तथा प्रक्रियामा सहज सहभागिता र सुदृढ सुरक्षा प्रबन्धनका लागि गम्भीर चासो लिँदै आएका छन् ।
उनले महोत्सव सफल गर्न अपेक्षित गृहकार्यका लागि जननकपुरधामका धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिनधि, समाजसेवी, साधुसन्त लगायतका व्यक्तिहरूसँग सामूहिक तथा व्यक्तिगत परामर्श गरी प्रदेश मातहतका मन्त्रालयलाई मेलाको तयारी गर्न निर्देशन दिएका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेशका शाखा अधिकृत श्यामसुन्दर मण्डलका अनुसार प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयबाट सहरका विभिन्न चार ठाउँमा खानेपानी संरचना निर्माण, ठाउँठाउँमा १८ वटा अत्यधिक प्रकाश दिने सडकबत्ती जडान र दुई सयवटा शौचालय निर्माण गरिएका छन् ।
यसैगरी शिक्षा तथा सँस्कृति मन्त्रालयबाट रामजानकीको वैवाहिक कार्यक्रममा सहभागी हुन भारतको अयोध्याबाट आउने जन्तीका लागि सहरका विभिन्न भागमा २० वटा प्रवेशद्वार निर्माण तथा विवाहोत्सव लगायत धार्मिक साँस्कृतिक विषयसँगै विभिन्न किसिमका सामग्री प्रदर्शनका लागि डिस्पले व्यवस्थापन गरिएको छ ।
खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जायसवालका अनुसार अयोध्याबाट आउने जन्तीको स्वागतका लागि प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनभित्र स्वागत मंसिर २० गते कार्यक्रम राखिएको छ । छ सय जन्तीलाई मधेश भवनभित्र सत्कारभोजसँगै भजन श्रवण गराइने उनले बताए ।
मेलाका बेला अचानक हुने मौसम परिवर्तनलाई मध्यनजर गरी श्रद्धालुभक्तजन र साधुसन्तसँगै सर्वसाधारणलाई कठ्याङ्ग्रिन नदिन ठाउँठाउँमा आगो बाल्न वन तथा वातावरण मन्त्रालयले दाउराको व्यवस्थापन गरेको छ ।