काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।
चितवन राइनोज ८७ रनले विजयी भएको हो । त्रिवि क्रिकेटमा मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १३.२ ओभरमा ७४ रनमै समेटियो ।
प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जित हो । चितवनले यसअघि पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालको थियो ।
पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । नारायण १३औं ओभरको पाँचौ बलमा आउट भए । म्याट क्रिचलीले १६ बलमा १७ रन बनाए । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेनले समान ३ तथा दीपक बोहोराले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन बनाए । बोपारले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । १६औ ओभरको अन्मि बलमा रेमन रेइफरको बलमा आउट भए । कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन बनाए । कुशल सागर ढकालको बलमा आउट भए ।
ल्युक बेनकेनस्टेनले १३ बलमा १६ रन बनाए । उनी बास डि लिडेको बलमा कप्तान कुशल भुर्तेलद्वारा क्याच आउट भए । ओपनर हसन इसाखिलले १० बलमा १४ रन जोडे ।
पोखराका लागि विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ तथा सागर ढकालले १ विकेट लिए