जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले दुधमती नदीको अतिक्रमण तत्काल हटाउने बताउनुभएको छ । मुख्यमन्त्री सिंहको अध्यक्षतामा मङ्गलबार जनकपुरधाममा बसेको उच्चस्तरीय समितिको बैठकले दुधमतीको प्राकृतिक बहाव क्षेत्रको सीमाङ्कन तथा नक्साङ्कन गरी तत्काल उत्खनन कार्य सुरु गर्ने निर्णय गरेको बताउनुभएको हो ।
ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको संयोजकत्वमा दुधमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमिति गठन गर्नुहुँदै मुख्यमन्त्री सिंहले अतिव्रmमित क्षेत्रको उत्खनन कार्यलाई तीव्रता दिने जानकारी दिनुभयो ।
धार्मिक तथा पौराणिक आस्थासँग जोडिएको दुधमती सिँचाइ तथा खानेपानीसमेतको महìवपूर्ण स्रोत रहेको बताउनुहुँदै मुख्यमन्त्री सिंहले दुधमती नदी संरक्षण हुनैपर्ने भएकाले प्रदेश सरकारले उत्खननसहितको कार्य अगाडि बढाउने बताउनुभयो ।
उच्चस्तरीय समितिका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री सिंहले भन्नुभयो, “पवित्र स्नानमार्फत पर्यटन प्रवर्धन तथा प्रदेशका बहुसङ्ख्यक खहरेखोला तथा नदीको प्राकृतिक बहाव क्षेत्र पुनस्र्थापन हुन आवश्यक छ, त्यस कारण प्रदेश सरकारले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।”
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको नदीको मुहानदेखि दक्षिणी बहाव क्षेत्रको पूर्णतः अतिक्रमित नदीको भूभाग उत्खननका लागि समुदाय तथा अन्य तहका सरकारको सहयोग अपेक्षासँगै थप जरुरी कार्यका लागि समितिले आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ । बैठकले दुधमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमितिमार्फत ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।
मुख्यमन्त्री सिंहको अध्यक्षतामा आयोजित उच्चस्तरीय बैठकमा ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री यादव, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका प्रदेश सचिव जक्की अहमद अन्सारी, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, मधेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशकलगायतको उपस्थिति रहेको थियो ।