वीरगञ्ज । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका धारणा र शब्दावलीबारे स्थानीय तहका सरोकारवालाबीच वीरगञ्जमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ब्लु डायमन्ड सोसाइटी काठमाडौंको आयोजनामा होटल वृन्दावनमा सेभ द चिल्ड्रेनको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
‘लैङ्गिक पहिचान, यौन अभिमुखीकरण र यौन विशेषतासम्बन्धी बुझाइ’ नाराका साथ आयोजित कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अवधारणा र शब्दावलीबारे छलफल भयो। ब्लु डायमन्ड सोसाइटी काठमाडौंका अध्यक्ष उमिशा पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा. मुक्तिनारायण साहले उद्घाटन गरे।
डा. साहले स्थानीय सरकारले रोजगारका अवसर प्रदान गरिरहेको बताउँदै तेस्रोलिङ्गी तथा समलिङ्गी समुदायलाई उच्च शिक्षा र पहुँचमा जोड दिनुपर्ने आवश्यकता औँल्याए। यौन व्यवसाय न्यूनीकरणका लागि यस समुदायको शिक्षामा पहुँच वृद्धि गर्नुपर्ने उनको सुझाव थियो।
कार्यक्रममा पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। सहयात्री समाज पर्साका कार्यकारी संयोजक सुरज लिम्बूले समलिङ्गी तथा तेस्रोलिङ्गी समुदायलाई हेर्ने दृष्टिकोणमा समस्या रहेको औँल्याए। उनले रोजगार अभाव र यस विषयको समाधानविना सुधारको अपेक्षा गर्न नसकिने बताए।
लिम्बूले पर्सा जिल्लामा सम्पर्कमा आएका ५ सयमध्ये ८० जना एचआइभी सङ्क्रमित रहेको जानकारी दिए। उनले समलिङ्गी तथा तेस्रोलिङ्गीहरूको स्वास्थ्य, शिक्षा, र रोजगार व्यवस्थापनमा सरकारले ध्यान नदिएको आरोप लगाए।
“समुदायको सम्मान र रोजगारीको अवसर आवश्यक”
कार्यक्रममा लिम्बूले स्थानीय, प्रदेश, र संघीय सरकारले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि वार्षिक बजेटमा शिक्षा र रोजगारीका लागि छुट्टै कोषको व्यवस्था गर्नुपर्ने माग राखे। उनले क्वेयर समुदायलाई खुला जीवन यापन गर्ने वातावरण सिर्जना गर्दै सम्मानजनक जीवनका लागि रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने सुझाव दिए।
कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायप्रति समाजको दृष्टिकोण परिवर्तन गर्दै उनीहरूको समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ।