दक्षिण भारतीय कलाकार नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन् । दुवैले बुधबार परम्परागत रुपमा भव्य विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९७६ मा नागा चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले स्थापना गरेको हैदराबादको एउटै अन्नपूर्ण स्टुडियोमा जोडीले विवाह गरेका थिए । विवाहको तस्वीर चैतन्यका पिता अभिनेता नागार्जुनले सेयर गरेका छन् ।
तस्वीरमा शोभिता सुनको एम्ब्रोइडरी–कञ्जीवरम रेशमी साडी र सुनका गहनामा आकर्षक देखिएकी छिन् । चैतन्य सेतो कुर्ता र धोतीमा देखिएका छन् ।
तस्वीर सेयर गर्दै नागार्जुनले लेखेका छन्, ‘शोभिता र नागालेसँगै यो सुन्दर अध्याय सुरु गरेको देख्नु मेरो लागि विशेष र भावुक क्षण हो । मेरो प्यारो छोरालाई बधाई छ र प्रिय शोभितालाई परिवारमा स्वागत छ । तिमीहरूले हाम्रो जीवनमा धेरै खुसी ल्याएका छौ ।’
नागा र शोभिताले अगस्टमा इन्गेजमेन्ट गरेका थिए । मिडिया रिपोर्टका अनुसार दुवैको निजी समारोह नागा चैतन्यका पिता नागार्जुनको घरमा भएको थियो । नागार्जुनको घर हैदराबादको पोश क्षेत्र जुबली हिल्समा अवस्थित छ । नागार्जुनले इन्गेजमेन्टका तस्वीर पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
सामन्था रुथ प्रभु र नागा चैतन्यले गोवामा ६ अक्टोबर २०१७ मा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए । विवाहपछि सामन्थाले आफ्नो नाम अक्किनेनी राखेकी थिइन् ।
सम्बन्ध विच्छेदको खबरका बीच सामन्थाले ट्वीटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु बनाएकी थिइन् । उनीहरु दुवैले ६ अक्टोबर २०२१ मा वैवाहिक जीवनको चार वर्ष पूरा गर्न लागेका थिए तर त्यसअघि नै उनीहरु छुट्टिए ।