महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले अपाङ्ग दिवसको अवसरमा नगरपालिकाका १८ जना अशक्त अपाङ्गहरुलाई व्हील चेयर वितरण गरेको छ।
मटिहानी नगरपालिका वडा नं. ३ का ५६ वर्षिय शुभनारायण साहले व्हील चेयर पाएपछि खुशी व्यक्ति गर्नुहुदै चेयर अभावमा आवश्यक काम पर्दा बाहिर जान धेरै अप्ठयारो हुने गरेको बताउनुभयो । उहाँले व्हील चेयर पाएपछि आफ्नो काममा केही सहजता आउने बताउनुहुँदै नगरपालिकालाई यस कार्यको लागि धन्यवाद दिनुभयो ।
केही दिनदेखि भारतको अयोध्याबाट आएका जन्तीहरुको स्वागतमा व्यस्त रहनुपरेका कारणले नगरपालिकाले ३३ औ अन्तर्राष्ट्रीय अपाङ्ग दिवस मनाउन पाएको थिएन ।
नगरप्रमुख हरिप्रसाद मण्डलले लैङ्गिक हिंसा दिवसको १६ दिने अभियान चलिरहेकोले दुई दिन ढिला भएपनि नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई व्हील चेयर वितरण गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वयमा पालिका भित्रका १८ जना शारीरिक अपाङ्गता भएकाहरुलाई व्हील चेयर वितरण गरिएको हो । नगरप्रमुख मण्डलले अपाङ्गता भएका व्यक्तिहरुलाई समेत आफ्नो काममा सहयोग हेतुले चेयर वितरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा मटिहानी नगरपालिका अपाङ्ग समन्वय समितिका अध्यक्ष एवम् नगर उपप्रमुख मंजु देवी साह, वड़ा नं. ६ का वडाध्यक्ष कलीम अंसारी, वडा नं. ७ का वडाध्यक्ष जितनारायण माझी, वडा नं. ८ का वड़ाध्यक्ष मदन चौधरी, लोसपा केन्द्रीय सदस्य रामकुमार मण्डल, नगर अध्यक्ष श्याम कुमार मण्डल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा प्रमुख दीपा दास लगायतका बक्ताहरुले अपाङ्गहरुको समस्याबारे मनतब्य राख्नुभएको थियो ।