वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१० अशोकवाटिकास्थित श्मशानघाटको पुनर्निर्माण कार्य तीव्र रुपमा भइरहेको छ। महानगरपालिकाले पुरानो संरचना भत्काएर एकपटकमा पाँचवटा शव जलाउन सकिने नयाँ संरचना निर्माण गरिरहेको हो।
महानगर प्रमुख राजेशमान सिंहका अनुसार अहिले काम जारी रहेको छ। पटकपटक बजेट विनियोजन हुँदै आएको र काम सम्पन्न भइसकेपछि मात्र कुल खर्चको यकिन अनुमान गर्न सकिने उनले बताए। “श्मशानघाटलाई आधुनिकीकरण गर्ने महानगरको प्रयास हो,” उनले भने, “निकट भविष्यमा विद्युतीय शवगृह पनि जडान गरिनेछ।”
महानगरले दाउराबाट शव जलाउने संरचना निर्माण गरिरहेको छ भने त्यसको उत्तरतर्फ विद्युतीय शवगृह जडान गरिनेछ। नगरप्रमुख सिंहका अनुसार महानगरले भवन निर्माण गर्ने र विद्युतीय संरचना मधेस प्रदेश सरकारले जडान गर्नेछ।
तर, यसअघि मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्माले आफ्नो कार्यकालमा विद्युतीय शवगृहका लागि दुई करोड बजेट विनियोजन गरिए पनि स्थानीयको विरोधका कारण संरचना जडान हुन नसकेको बताएका थिए। “तत्कालीन नगरप्रमुख विजयकुमार सरावगीको पालामा महानगरको ५० लाख लगानीमा भवन निर्माण गरियो, तर स्थानीय विरोधका कारण विद्युतीय संरचना स्थगित भयो,” उनले भने।
श्मशानघाटको ऐतिहासिक परिप्रेक्ष्य
श्मशानघाटको निर्माण पूर्वनगरप्रमुख माधवलाल श्रेष्ठको पालामा सार्वजनिक जग्गामा गरिएको हो। त्यसपछि विभिन्न जनप्रतिनिधिहरू, जस्तै पूर्वसांसदहरू ओमप्रकाश शर्मा, विमल केडिया र श्याम टिबडेवालले संरचनाको व्यवस्थापन र विस्तारमा योगदान गरेका थिए।
श्मशानघाटको आधुनिकीकरणसँगै प्रवेशद्वारको संख्या पनि बढेको छ। हालसम्म चारवटा प्रवेशद्वार निर्माण गरिए पनि तीमध्ये तीनवटा मात्रै सञ्चालनमा छन्। श्रीसिया नदीसँग जोडिएको यो श्मशानघाटले जग्गा अतिक्रमण हुन नदिनका लागि सुरुवातदेखि नै ध्यान दिइएको छ।