काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा देशभर ३,४४१ वटा यौनजन्य घटनाका उजूरी प्रहरीमा दर्ता भएका छन । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार उजुरीमध्ये सवैभन्दा बढी कोशी र सवैभन्दा कम गण्डकी प्रदेशमा यौनजन्य घटनाका उजूरी दर्ता भएका छन ।
कोशी प्रदेशमा ७३६ र गण्डकी प्रदेशमा २३६ वटा घटना भएका छन । यस्तै लुम्बिनी प्रदेशमा ५८४, मधेस प्रदेशमा ४६६, बागमती प्रदेशमा ४११, गण्डकी प्रदेशमा २३६ कर्णाली प्रदेशमा २५७ र सुदूरपश्चिम प्रदेशमा २८९ रहेका छन ।
यस्तै काठमाडौं उपत्यकामा गत आर्थिक बर्षमा ४६२ वटा घटना घटेका थिए । २०८० को साउनदेखि २०८१ को असार महिनासम्मको देशभर घटेका यौनजन्य घटनाको विवरण हेर्दा ९१.१ प्रतिशत अभियुक्त चिनेजानेकै छन ।
प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्यांकअनुसार यौनजन्य हिंसाका आरोपी–अभियुक्त करिव ९२ प्रतिशत आफन्त तथा चिनेजानेकै रहेको देखिएको छ । प्रहरीका अनुसार देशभर घटेका ३,४४१ वटा घटनामा ३,८०५ जना अभियुक्त रहेका छन । जसमध्ये ४५१ जना पारिवारिक नाता सम्बन्धका अभियुक्त छन । यस्तै ९२७ वटा घटनाका अभियुक्त छिमेकी र २०३१ जना सामान्य चिनजानका मानिस छन ।
प्रहरीको तथ्यांकअनुसार यौनजन्य घटनामा सय जना अभियुक्त बुवा वा झडकेला बुवा रहेका छन भने ७८ जना अभियुक्त दाजुभाइ पर्ने, काका वा मामाका छोरा रहेका छन । ७३ वटा घटनामा श्रीमानले नै श्रीमतीमाथि यौजजन्य अपराध गरेको देखिएको छन । यस्तै १९४ वटा घटनामा अभियुक्त प्रेमी वा केटासाथी रहेका छन भने ८ जना घरमालिक अभियुक्त छन ।
यौनजन्य हिंसासम्बन्धी कसूरमा पछिल्लो संशोधन गरी अवस्था हेरिकन उजुरी दिने हदम्याद बढाइएको छ । घटना भएको २ देखि ३ वर्षसम्म उजुरी दिन सकिने गरी हदम्याद राखिएको छ । मुलुकी अपराध संहिता परिच्छेद १८ मा करणीसम्बन्धी कसूरमा भएको व्यवस्था अनुसार विभिन्न प्रकारका कसूरलाई यौनजन्य हिंसामा समेटिएको छ । घटनाको प्रकार अनुसार एक वर्षदेखि तीन वर्षसम्म तथा दफा २२० अन्तर्गतको कसूरमा जहिलेसुकै उजुर गर्न सकिने व्यवस्था रहेको छ ।