वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकामा कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ । नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको प्रदर्शनीलाई सोमबार महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले समापन गरेका थिए ।
प्रदर्शनीको समापन समारोहमा मेयर यादवले गढीमाई मेलामा पहिलो पटक फरक प्रकारको प्रदर्शनी सफलतापूर्वक आयोजना गर्न सकेकोमा कनेक्ट किसानलाई धन्यवाद व्यक्त गरे ।
उनले कृषकहरूलाई नयाँ ज्ञान र अनुभव हासिल गर्न प्रदर्शनीले उत्कृष्ट अवसर प्रदान गरेको भन्दै यसले स्थानीय उत्पादनको प्रचार र प्रवर्द्धनमा ठूलो भूमिका खेलेको बताए ।
कृषि प्रदर्शनीमा विभिन्न विशेषताहरू समेटिएका थिए । स्थानीय उत्पादन, रैथाने बाली, सात प्रदेशका फरक परिकारहरू, आधुनिक कृषि प्रविधि, नर्सरी, माछा पालन, र कृषि उपकरणहरूको प्रदर्शन प्रमुख आकर्षण थिए। ट्र्याक्टर, रोटावेटर, हार्वेष्ट कम्पाईनलगायतका उपकरणहरू प्रदर्शनीमा प्रदर्शित गरिएका थिए ।
प्रदर्शनीको अर्को विशेष पक्ष भनेको कृषकहरूलाई कृषि तथा पशु सेवाका विशेषज्ञहरूसँग प्रत्यक्ष संवादको अवसर थियो । साथै, रोबोटसँगको संवादले दर्शकहरूको विशेष ध्यान खिच्यो ।
मङ्सिर १८ देखि २४ गतेसम्म चलेको यो प्रदर्शनीले करिब एक लाख दर्शकहरूको अवलोकन पाएको आयोजकहरूले दाबी गरेका छन् ।
कनेक्ट किसानका अध्यक्ष सञ्जीता लामिछानेका अनुसार प्रदर्शनीबाट १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष र बुकिङ कारोबार भएको छ । हेभि इक्विपमेन्ट, ट्र्याक्टर र अन्य उपकरणहरूको बिक्रीमा विशेष चासो देखिएको उनले बताइन् ।
नेपाल सरकारका विभिन्न निकाय र निजी क्षेत्रको सहकार्यमा सम्पन्न प्रदर्शनीमा एक सय भन्दा बढी स्टलहरू राखिएका थिए । प्रदर्शनीले कृषकहरूलाई नयाँ प्रविधि र ज्ञानमा पहुँच दिलाउँदै स्थानीय उत्पादनको प्रवर्द्धनमा ठूलो योगदान पुर्याएको छ ।