कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई म्याद थपका लागि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । यसअघि मङ्सिर २३ गते थपिएको चार दिनको म्याद बुधबार सकिएपछि लामिछानेलाई अदालत लैजान लागिएको हो ।
प्रहरीले कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएको थियो । उहाँ विरुद्ध यसअघि छ पटक म्याद थप गरी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ ।
पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका लामिछाने स्वास्थ्य अवस्था ठिक रहेको र बिहीबार अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । “बाहिर अनेक गलत कुरा आएका छन्, उहाँको स्वास्थ्य ठिक छ, बिहीबार अदालत लैजाँदै छौँ,” उहाँले भन्नुभयो ।
अनुसन्धान करिब सकिएकाले चाँडै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आउनेछ ।
कास्की अदालते उहाँलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश दिए पनि अन्यत्रका चार सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उहाँलाई हिरासतमै राख्नेछ । पाँच वटै ठाउँमा लामिछानेको बयान सकिएकाले पुर्पक्षमा राख्ने वा नराख्ने वा हिरासतमा राख्ने वा नराख्ने भन्ने निर्णय पनि अदालतको आदेशमै निर्भर हुनेछ ।
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछाने समेतले पोखराको सूर्य दर्शन सहकारीको रकम अवैधानिक रूपमा अपचलन गरेको आरोप छ । गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, र कृष्णबहादुर गुरुङलाई पनि सँगै अदालतमा उपस्थित गराइँदै छ ।
लामिछानेविरुद्ध रुपन्देही, काठमाडौँ, चितवन र पर्साबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोरखा मिडिया नेटवर्कले सूर्य दर्शन सहकारीसहित अरू सहकारीबाट ६५ करोड अवैधानिक रूपमा लगेर ठगी गरेको आरोप छ । सूर्य दर्शनमा एक अर्ब ३५ करोड हिनामिना भएको देखिएको छ ।