जनकपुरधाम । त्रेता युगमा रामसीताको विवाहका लागि मिथिला नगरीलाई सजाउन तयार पारिएका चित्रहरूमै आधारित मिथिला चित्रकलाले अहिले विश्वव्यापी पहिचान बनाइसकेको छ । जनकपुरधाममा मिथिला कलाको अभाव भइरहेको बेला मिथिला चित्रकार सुनैना ठाकुरले व्यक्तिगत लगानीमा जानकी मन्दिर परिसरमा मिथिला चित्रकला उतारिरहनुभएको छ । प्राचीन मिथिलाको राजधानी तथा वर्तमान मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा बेलाबखत सरकारी तथा गैरसरकारी बजेट लगानीमा मिथिला चित्रहरू भित्तामा कोरिने गरिएका छन् तर मिथिला चित्रकार सुनैनाले जनकजीको नगरीमा विवाहपञ्चमी अर्थात् सीताको स्वयंवरमा सीताको आँगन जानकी मन्दिरलाई आधुनिक बत्तीले मात्र सजाएको देख्दा उहाँको मनले नमानेपछि परम्परागत संस्कृति झल्काउने उद्देश्यले व्यक्तिगत लगानीमै मिथिला चित्रकलामा रामसीताको स्वयंवर र कोहबर बनाउनुभएको हो ।
प्रत्येक वर्ष जनकपुरको जानकी मन्दिरमा धुमधामका साथ मनाइने विवाहपञ्चमीमा समेत जानकी मन्दिरलाई झिलिमिली आधुनिक बत्तीले र बनावटी फूलमालाले मात्र सजाइन्छ तर प्राचीन विवाहलाई स्मरण गर्दै महामहोत्सवका रूपमा मनाइने विवाहको सजावटमा प्राचीन मिथिला कला भने झल्केको देखिँदैन । त्यस कारण चित्रकार ठाकुरले आफ्नो मेहनत र सामग्रीले भ्याएसम्म स्वयंवर र कोहबरको चित्र कोर्नु भएको हो । अहिले त्यो चित्र जानकी मन्दिर आउने दर्शकका लागि आकर्षणको केन्द्रसमेत बनेको छ ।
“धुमधामका साथ मनाइने विवाहमा जानकी मन्दिरका भित्ताका रङ उप्किएका, फुटेको देखेर मनले चुपचाप बस्न मानेन त्यस कारण आफूसँग भएका सामग्री र सिपबाट यहाँका भित्ता सजाउन लागे,’ चित्रकार ठाकुर भन्नुहुन्छ । हजारौँ श्रद्धालुको उपस्थिति रहने विवाहपञ्चमी महोत्सवको मुख्य स्थल जानकी मन्दिरमा कुनै रङरोगन नहुँदा कला र संस्कृति संरक्षणमा प्रदेश सरकारको बेवास्ता देखिएको मिथिला चित्रकार ठाकुर बताउनुहुन्छ ।
“प्रदेश सरकारले पर्खाल सजाउन लाखौँ बजेट खर्च गरिरहेको छ तर जानकी मन्दिर परिसरको कुनै पनि पर्खालमा कसैको आँखा पुगेन,” ठाकुर भन्नुहुन्छ । उहाँले आफ्नै व्यक्तिगत लगानीमा जानकी मन्दिर प्राङ्गण र लक्ष्मण मन्दिर अगाडि रहेको हनुमान मन्दिरमा रामसीताको स्वयंवर र कोहबर चित्र बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “म र मेरो टोलीको मेहनत र मसँग भएको चित्रकलाको सामग्रीले चित्र बनाउन सकिन्छ भने हाम्रो छोरीचेलीको आँगन किन नसजाउने, त्यस कारण बनाउन लागेको हुँ ।”
“मिथिला चित्रकार र मिथिलावासीको नाताले जानकीजीको आँगनमा कुनै रङरोगन नहुनु मेरो मनले मानेन,” उहाँले थप्नुभयो । उहाँको काम हेर्ने धेरैले यसलाई बजेटमा गरिएको कार्यक्रम हो कि भनेर प्रश्न उठाउने गरेको सुनैना बताउनुहुन्छ तर यो उहाँको व्यक्तिगत लगानी र जानकीजीप्रतिको आस्थाबाट प्रेरित भएको उहाँ बताउनुहुन्छ ।
यस्तै चित्रकलाको माध्यमबाट जनकपुर सहरलाई सजाउने व्रmममा प्रदेश सरकारले प्रदेश मन्त्रालय परिसरको पर्खालमा ७० भन्दा बढी मिथिला चित्र बनाएको छ तर जानकी मन्दिर परिसरमा प्रदेश सरकारको ध्यान जान सकेको छैन । जहाँ मन्त्रालय परिसरका पर्खाललाई मिथिला चित्रले सजाइएको छ । त्यहाँ जानकी मन्दिरमा ध्यान नजानु विडम्बना हो । जबकि रामजानकी विवाहको तिलकोत्सवको भार लिएर मुख्यमन्त्रीसहितको टोली अयोध्या पुगेको थियो तर त्यही जानकी मन्दिरलाई बेवास्ता गरिएको देखियो ।
स्थानीय बासिन्दा र श्रद्धालुहरूले जानकी मन्दिर जस्तो ऐतिहासिक स्थललाई बेवास्ता गरिनु सरकारको असंवेदनशीलता भएको बताउँछन् ।
प्रदेश मन्त्रालयको पर्खालभरि रामायण कथालाई वर्णन गर्ने दृश्य मिथिला चित्रकलामा दर्शाउन खोजेको छ । जहाँ प्रत्येक चित्रले त्रेता युगमा रामसीताको विवाहको झल्को दिइरहेको अनुभूत हुन्छ ।
यस चित्रले सांस्कृतिक सौन्दर्य र धार्मिक आस्थालाई झल्काइरहेको छ । यी चित्रहरू केवल भित्ताका सजावट मात्र नभई, मिथिलावासीको जीवनशैली, परम्परा र आस्थालाई अभिव्यक्त गरिरहेका देखिन्छन् ।
यस्तै अहोरात्र खटेर मिथिला चित्र कोर्नमा व्यस्त हुनुभएकी मिथिला चित्रकार पुनम झा भन्नुहुन्छ, “यसरी रामायण कथा मिथिला चित्रमा वर्णन गर्न पाउँदा त्रेता युगमा मिथिलामा भगवान् रामको सद्गतमा मिथिलावासी सजाएको भान भइरहेको छ । यसरी मिथिला क्षेत्रले परिचित जनकपुरधाममा विवाहपञ्चमीका अवसरमा रामायण कथा मिथिला चित्रमा कोर्न पाउनु सौभाग्य हो, यसअघि थुप्रै चित्र कोरेँ तर यसरी आफ्नै सहर सजाउन/चित्र कोर्न पाउँदा मनै प्रफुल्ल भएको छ ।”