काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलको तुलशीलाल स्मृति हलमा आयोजित दुईदिने कार्यशालामा देशभरिका विभिन्न तहका ३०० जना नेता-कार्यकर्ताहरू सहभागी भएका थिए ।
कार्यशालालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै पार्टीको संगठनात्मक सुदृढीकरण र जनआधार विस्तारमा जोड दिए । कार्यशालालाई वरिष्ठ उपाध्य ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि सम्बोधन गरेका थिए ।
कार्यशालाको पहिलो दिन पार्टी महासचिव पोखरेलले वार्षिक कार्ययोजनाको अभिमुखीकरण गरे भने संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले मुख्य कार्यपत्र प्रस्तुत गरे । सहभागीहरूलाई १० वटा समूहमा विभाजन गरी विस्तृत छलफल गरिएको थियो । दोस्रो दिन समूहगत छलफलका प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो ।
कार्यशालाले देशव्यापी संगठनात्मक अभियान सञ्चालन गर्ने महत्वपूर्ण निर्णय गरेको छ । माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रीत अभियान सञ्चालन गर्ने, आधारभूत तहसम्म पार्टी कमिटी निर्माण गर्ने र जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने प्रमुख संकल्पहरू लिइएका छन् ।
यसैगरी, कार्यशालाले आगामी फागुन-चैत महिनाभित्र पार्टी सदस्यता नविकरण गर्ने, सबै पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने र चैतसम्ममा राष्ट्रिय युवा महोत्सव आयोजना गर्ने निर्णय गरेको विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।
पार्टी र नेतृत्व विरुद्धका षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्दै कार्यशालाले पार्टीको नीति र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प लिएको छ ।