बर्दीबास । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले उखु पेल्न (क्रसिङ गर्न) सुरु गरेको छ । यस वर्ष निर्धारित समयमा मिल सञ्चालन भए पनि उखु अभाव (नो केन) का कारण पूर्ण क्षमतामा क्रसिङ हुन नसकेको एभरेस्ट मिलले जनाएको छ ।
एभरेस्टका महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार यस वर्ष (२०८१/८२) ३५ लाख क्विन्टल उखु क्रसिङ गरी तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्यसाथ मङ्सिर २६ गतेदेखि क्रसिङ सुरु भएको थियो ।
यसका लागि एभरेस्टको पाकेट एरियामा रहेको महोत्तरीमा २४ लाख र सर्लाहीमा सात लाख गरी ३१ लाख क्विन्टल उखु उत्पादन भएको प्रक्षेपण गरिएको छ । थपथापमा चार लाख क्विन्टल जति अन्य क्षेत्रबाट आपूर्ति गरेर यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङको तयारी गरिएको महाप्रबन्धक शुक्लाले बताउनुभयो । क्रसिङका लागि आवश्यक उखु मिल गेटमा २० लाख क्विन्टल र बाँकी उखु महोत्तरी र सर्लाहीका ग्रामीण भेगमा रहेका ३३ वटा खरिद केन्द्रमार्फत आपूर्तिको व्यवस्था मिलाइएको छ ।
गत वर्ष क्रसिङ सिजनमा मूल्य निर्धारणको विषयमा चित्त नबुझ्दा उखु किसान आन्दोलनमा उत्रेका कारण पुस ४ देखि मात्र मिल सञ्चालनमा आएको थियो ।
यस वर्ष मूल्य निर्धारणको विषयलाई लिएर किसानको असन्तुष्टि कायमै रहे पनि उखु कटान गर्न सकारात्मक छन् । फेरि पनि मिल सञ्चालन भएदेखि नै ‘नो केन’ हुँदा एक दिन बिराएर क्रसिङ गर्नु परेको एभरेस्टका उखु महाप्रबन्धक विनोद यादवले जनाउनुभयो ।
उहाँका अनुसार कारखानालाई पूर्ण क्षमतामा सञ्चालन हुन दैनिक ४० देखि ४५ हजार क्विन्टल उखु आवश्यक पर्छ । अहिले आवश्यकताको आधा अर्थात् करिब २० देखि २२ क्विन्टल मात्र आपूर्ति हुने गरेको छ । यो समस्याले एक दिन उखु जम्मा गर्ने र अर्को दिन क्रसिङ गर्नु परेको यादवले जनाउनुभयो ।
उहाँका अनुसार उखु अभावले एक दिन बिराएर मिल चलाउनु पर्दा खर्चिलो भएको छ भने चिनी उत्पादन पनि हुन सकेको छैन । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवहाका अनुसार क्रसिङ सुरु भएलगत्तै मुख्यतः विवाहपञ्चमी र गढीमाई जस्ता स्थानीय मेलाका कारण कामदार अभाव भएकाले किसानले चाहेर पनि उखु आपूर्ति गर्न नसकेका हुन् ।
अर्कातर्फ अहिले जिल्लाको दक्षिणी भेगमा बासमती धान काट्ने र दाइँको चटारो छ । उता मिल गेटलाई पश्चिमी भेग जोड्ने मडाहा पुलको वर्षा कालमै क्षतिग्रस्त स्पर मर्मत नगर्दा भरतपुर, कान्तिबजार र सर्लाहीको मध्यवर्ती भेगका उखु आउन सकेको छैन । यी सबै कारणले ‘नो केन’ हुन गएको उहाँको भनाइ छ । कुशवहाले उखु काटेर हिउँदे बाली लागाउन किसान आफैँ हतोरमा रहेको र मेलाहरू समापन भएसँगै कृषि मजदुर पनि काममा फर्कन थालेकाले पुस पहिलो सातादेखि उखु आपूर्ति बढ्ने बताउनुभयो ।
गत वर्ष एभरेस्टले क्रसिङ सिजनमा २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा छ लाख क्विन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको महाप्रबन्धक शुक्लाले जनाउनुभयो ।