काठमाडौं। मोबाइल फोनको कमजोर वा कुनै नेटवर्क नभएको अवस्थामा नमिठो अनुभव हुन्छ । आपत्कालीन अवस्थामा त झन् कसैलाई सम्पर्क गर्न नसक्दा ठुलो क्षति ब्यहोर्नु पर्ने हुन सक्छ ।
तर तपाईलेले केही सामान्य तरिकाहरू थाहा पाउनु भयो भने मोबाइलको नेटवर्क सिग्नल केही हदसम्म सुधार गर्न सक्नु हुन्छ । आज हामी यहाँ तिनै उपायहरूको बारेमा बताउँदै छौं ।
१. एयरप्लेन मोड अन-अफ गर्ने
फोनको एयरप्लेन मोड टगल (अन/अफ) गर्दा वाई-फाई, ब्लुटुथ, र सेलुलर नेटवर्क मोडलाई पुन: रिसेट गर्न मद्दत पुग्छ । यसका लागि एन्ड्रोइड मोबाइलको स्क्रिन माथिबाट तल स्वाइप गरेर क्विक सेटिङ प्यानल खोलेर एयरप्लेन मोड आइकनमा ट्याप गर्नुपर्ने हुन्छ । आईफोन हो भने स्क्रिनको माथि दायाँ कुनाबाट तल स्वाइप गरेर एयरप्लेन मोडमा ट्याप गर्न सक्नु हुन्छ ।
२. फोन रि-स्टार्ट गर्नुहोस्
कम्प्युटर जस्तै, फोनलाई रि-स्टार्ट गर्दा साना समस्याहरू समाधान हुन सक्छन् । यसका लागि एन्ड्रोइड फोनमा पावर बटन दबाएपछि रि-स्टार्टमा ट्याप गर्न सक्नु हुन्छ भने आईफोनमा स्लिप/वेक बटन र भोलुम बटन थिचेर पावर स्लाइडर स्वाइप गरी रिस्टार्ट गर्नु पर्ने हुन्छ ।
३. सिम कार्ड निकाल्नुहोस् र सफा गर्नुहोस्
सिम कार्ड हटाएर सफा गर्दा कहिले काहीँ नेटवर्क तथा कनेक्टिभिटीको समस्या समाधान हुन सक्छ । सिम कार्डमा कुनै क्षति पुगेको छ भने नयाँ कार्ड राख्नु होस् । ई-सिम भएका फोनहरूमा भने फोन रि-स्टार्ट गर्न सक्नु हुन्छ ।
४. फोनको केस तथा कभर हटाउनुहोस्
फोनको मोटो केसले एण्टेनाको सिग्नल रोक्न सक्छ । यस्तो अवस्थामा केस हटाउनु उपयुक्त हुन्छ ।
५. फोन चार्ज भएको सुनिश्चित गर्नुहोस्
राम्रो नेटवर्क प्राप्त गर्न फोनले बढी शक्ति खपत गर्न सक्छ । तर कम ब्याट्री हुँदा पर्याप्त शक्ति नभएर नेटवर्क प्राप्त गर्न कठिनाइ उत्पन्न हुन सक्छ । त्यसैले फोनमा पर्याप्त ब्याट्री वा चार्ज भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।
६. नेटवर्क सेटिङ रिसेट गर्नुहोस्
यदि उपरोक्त विधिहरूले काम गरेन भने, फोनको नेटवर्क सेटिङ रिसेट गर्न सक्नु हुन्छ । यसका लागि एन्ड्रोइडमा सेटिङभित्र रहेको रिसेट नेटवर्क सेटिङमा ट्याप गर्नुहोस् ।
आईफोनका लागि भने सेटिङबाट ट्रान्सफर अर रिसेट आईफोन > रिसेट > रिसेट नेटवर्क सेटिङमा जानु पर्ने हुन्छ ।
७. मोबाइल सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्
यदि समस्या समाधान भएन भने, तपाईंको सेवा प्रदायकसँग सम्पर्क गर्नुहोस् । टावरको समस्या वा सिम कार्डको खराबी जस्ता कारणहरू हुन सक्छन् ।