राजविराज । सप्तरीको राजविराज विमानस्थलबाट अब रात्रीकालिन उडान हुने भएको छ । अहिले बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसंगै अब बुद्ध एयरले नै रात्रीकालिन उडान समेत गर्ने भएको हो ।
राजविराज विमानस्थलका प्रमुख ध्रुवराज श्रेष्ठका अनुसार लाइटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रूपमा राजविराज विमानस्थल रात्रिकालिन उडानका लागि तयार भएको छ । रात्रीकालिन उडानका लागि सोमबार साँझ बुद्ध एयरले परिक्षण उडान गर्ने तयारी गरेको छ । संघीय सरकारका पर्यटनमन्त्री बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह परीक्षण उडानका बेला राजविराज विमानस्थलमा रहने छन् ।
'प्राविधिक र पूर्वाधारको हिसाबले राजविराज विमानस्थल रात्रीकालिन उडानका लागि तयार छ,' विमानस्थल प्रमुख श्रेष्ठले भने, 'आज (सोमवार ) साँझ नियमित उडानलाई नै परीक्षण उडानमा परिणत गरिएको छ ।' राविराज रात्रीकालिन उडान हुने १० औँ विमानस्थल भएको उनले बताए ।
राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको हो । बुद्धको ७२ सिटे जहाज दैनिक रूपमा दिउँसो काठमाडौंबाट यात्रु लिएर राजविराज उत्रने र यहाँबाट यात्रु लिएर काठमाडौं फर्किने गरेको छ ।
राजविराज विमानस्थलबाट पूर्वतर्फ एक सय किलोमिटरमा विराटनगर विमानस्थल रहेको छ भने पश्चिममा पनि एक सय किलोमिटरमा जनकपुर विमानस्थल रहेको छ । सय किलोमिटरको फरकमा विमानस्थल रहेका कारण यस क्षेत्र वरिपरिका यात्रुको रोजाइमा राजविराज विमानस्थलको हवाई सेवा पर्ने गरेको छ ।लामो समय बन्द रहेको राजविराज विमानस्थलबाट ०७५ साल असार १० देखि श्री एयरलायन्सले सातामा पाँच दिन उडान सुरु गरेको थियो । तर श्रीले सातामा पाँच दिन उडान सुरु गरेको केही दिनमै दुई दिन कटौती गर्दै तीन दिन मात्र उडान भर्ने गरेको थियो । तीन दिनपछि सातामा दुई दिन मात्र उडान सुरु गरेको एक वर्षपछि श्री एयरलाइन्सले राजविराज उडान बन्द गरेको थियो ।
२०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन भएको केही दिनभित्रै राजविराज विमानस्थलमा विमान सेवा बन्द भएको थियो । बीचबीचमा केही समय विमानस्थलमा जहाज आए पनि कच्ची धावन मार्ग तथा अन्य प्राविधिक समस्याका कारण राजविराज विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन ।
राजविराज विमानस्थल कार्यालयका अनुसार ०५२ सालमा केही दिन यहाँबाट उडान भएपनि धेरै दिन चल्न सकेन । त्यसपछि २०६६ सालमा केही दिनका लागि मात्र राजविराज विमानस्थलबाट पहाडी जिल्लाका लागि उडान भएर फेरि बन्द भएको थियो । विगतमा कच्ची धावन मार्गको कारण देखाउँदै यहाँबाट विमान सेवा ठप्प हुने गरेको थियो । ३० करोड रुपैयाँभन्दा बढीको लागतमा राजविराज विमानस्थलमा पक्की धावनमार्गसहितका अन्य पूर्वाधारहरू तयार भएपछि अहिले उडान नियमित हुन सकेको हो । २०७३ साल असोजमा सुरु भई २०७५ वैशाखमा विमानस्थलको पक्की धावन मार्गसहितका संरचना निर्माण भएको थियो ।
राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग रहेको छ । यसका अतिरिक्त ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा १ सय १० मिटर लामो ट्याक्सी वे निर्माण गरिएको छ । यसका अतिरिक्त नयाँ टर्मिनल भवन निर्माण भएको छ । त्यसभित्र शौचालय, विशिष्ट कक्षसहित जाने र आउने यात्रुहरूका लागि समेत कक्षहरू रहेका छन् ।