पर्सा, असार २४
पटेर्वासुगौली गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमसहित अनुमानित रु ३६ करोडको बजेट प्रस्तुत गरेको छ ।गापा अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ममता महतोले नीति तथा कार्यक्रमसहित आगामी वर्षको लागि अनुमानित रु ३६ करोड ८९ लाख २६ हजार ९ सय १३ को बजेट प्रस्तुत गरिन् ।बजेट प्रस्तुत गर्दै उपाध्यक्ष महतोले गापाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधारलगायतमा विशेष प्राथमिकता दिएको बताइन् ।
उनले दुधेश्वरनाथ महादेव, गादीमाई, भौरीमाई, वनस्पतिमाईलाई पर्यटन क्षेत्र बनाउने, सामुदायिक विद्यालयको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई पुरस्कार वितरण गर्ने, सबै विद्यालयमा इन्टरनेट जडान गर्ने, बालमैत्री विद्यालय बनाउने, घर–घरमा स्वास्थ्य सेवा प्रदान गर्ने, गर्भवती महिलालाई निश्शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, गापालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने नीति तथा कार्यक्रममा रहेको जानकारी गराइन् ।यसैगरी, गर्भवती महिलालाई पोषणभत्ता दिने, सार्वजनिक शौचालय निर्माण गर्ने, फोहोरको उचित व्यवस्थापन गर्ने, आयआर्जनको लागि सीप विकास तालीम दिइने, सामाजिक कुरीति हटाउनेलगायतका विषयहरू नीति तथा कार्यक्रममा रहेको र सोहीअनुरूप बजेट विनियोजन गरिने आश्वासन दिइन् ।कार्यक्रममा वडाध्यक्षहरू फरमान मियाँ अन्सारी, विजय गैरे, राजेश्वर महतो, मोतीलाल साहलगायत सहभागी थिए ।कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले स्वागत र सञ्चालन शिक्षा शाखा प्रमुख शम्भु साहले गरेका थिए ।