काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा गुगलले वर्ष २०२४ भर सबैभन्दा धेरै खोजी भएका विषयबारे प्रतिवेदन सार्वजनिक गरेको छ । गुगल सर्चमा विश्वभर सबैभन्दा धेरै खोजिने विषयमा विधागत रूपमा टप टेन ट्रेन्डबारे जानकारी दिएको छ । यसमा प्रयोगकर्ताले कोपा अमेरिकादेखि डोनाल्ड ट्रम्प, आइफोन १६, अधिक गर्मी, ओलम्पिक चकलेट मफिन्स, माइक टाइसन, भाइरल क्युकम्बर सलादजस्ता विषयमा सबैभन्दा धेरै गुगल सर्च गरेको देखिन्छ ।
गुगलले हालै आफ्नो वार्षिक 'इअर इन सर्च' अर्थात सन् २०२४ भर गुगलमा प्रमुख खोजी भएका विषयहरूबारे विस्तृत रिपोर्ट सार्वजनिक गरेको छ । सरसर्ती हेर्दा, यो वर्ष विश्वभरका मानिसले सधैँझैँ अनौठा जिज्ञासा, मनोरञ्जन र नयाँ ज्ञानको खोजी गर्न गुगल प्रयोग गरेको देखिन्छ । यस वर्ष खेलकुद, मनोरञ्जन, राजनीति, खाना, प्रविधिसँगै भाइरल क्षण र सामाग्रीहरूले गुगल प्रयोगकर्ताहरूको ध्यान उल्लेख्य रूपमा खिचेको थियो । सबैभन्दा बढी खोजिएका १० वटा विषयको सूचीमा ६ वटा खेलकुदसँग सम्बन्धित छन् ।
गुगल सर्चको नतिजा हेर्दा अधिकांश भारतीयको रुची यस वर्ष इन्डियन प्रेमियर लिग, टी-ट्वान्टी विश्वकप र भारतीय जनता पार्टीसम्बन्धी विषयमा बढी देखियो । भारतमा सबैभन्दा बढी सर्च गरिएको विषय वायु प्रदूषण मापनसम्बन्धी एक्यूआई र अधिक तापजस्ता विषय पनि परेका छन् । भारतीय सेलेब्रिटीमा कुस्तीबाज तथा भारतीय काङ्ग्रेसकी नेता विनेश फोगटले सबैभन्दा उच्च स्थान पाएकी छन् । व्यापारी मुकेश अम्बानीकी नवविवाहित बुहारी राधिका मर्चेन्टबारे पनि भारतीयले निकै चासोका साथ खोजी गरेको देखिन्छ । ‘लोकसभा चुनावमा कसरी भोट हाल्ने ?’ देखि भारतीयहरूले गुगलमा ‘सर्भिकल क्यान्सर’, ‘अके’, ‘अल आइज अन रफाह’, ‘तवाइफ’ जस्ता शब्दको अर्थ सबैभन्दा धेरै खोजी गरेका थिए ।
सांगीतिक समूह ‘वान डिरेक्सन’का गायक लियाम पेनको निधन, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती युवराज्ञी क्याथरिन एलिजावेथ मिडलटनसँगै आइफोन १६ पनि गुगलमा बढी खोजिएका विषय देखियो । प्रशंसकहरूले भारत र बङ्लादेशबीचको क्रिकेट श्रृंखला र ओलम्पिक खेलहरूबारे पनि मनग्गे खोजी गरेका रहेछन् । ठूलो जनसंख्या र गुगल प्रयोगकर्ता रहेको दक्षिण एसिया र विशेषगरी भारतमा क्रिकेटसँग सम्बन्धित विषयको धेरै चासो रहने भएकाले क्रिकेटका विषयहरू बढी खोजी भएको देखियो ।
गुगलले भारत, हङकङ, अस्ट्रेलिया, पाकिस्तान लगायत देशको गुगल सर्च ट्रेन्डबारे छुट्टाछुट्टै रूपमा विवरण राखे पनि नेपालबारे समावेश छैन । विभिन्न सञ्चार माध्यमले जनाएअनुसार नेपालबाट सन् २०२४ मा खेलाडी सन्दीप लामिछाने, सगरमाथा, पर्यटन, चाडपर्व र काठमाडौंका बारेमा धेरै गुगल सर्च गरेका थिए । तपाईंले चाहिँ गुगलमा मुख्यतया के खोज्नुभयो ?