सर्लाही । किसानहरूको विभिन्न समस्यालाई लिएर सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ हनुमान चौकमा मंगलबार किसान भेला सम्पन्न भएको छ। उक्त भेला सर्लाहीका किसानहरूले स्वस्फूर्त रुपमा आयोजना गरेका हुन्। भेलामा उखु किसानहरूको पुरानो बक्यौता रकम भुक्तानी, विऊ विजनको चरम अभाव, रासायनिक मलको अभाव लगायतका समस्यालाई समूहगत छलफलमार्फत समाधान गर्ने उद्देश्य राखिएको थियो।
भेलाले पाँच बुँदे निर्णय गर्दै किसानहरूको माग सम्बोधनका लागि ठोस कदम चालेको छ। भेलाले हरिनन्दन प्रसाद राय यादवको संयोजकत्वमा ४१ सदस्यीय उखु किसान समिति गठन गरेको छ। समितिले चिनी मिलहरू र सरकारी निकायमा किसानहरूको समस्या समाधानका लागि विभिन्न पहल गर्ने निर्णय गरेको छ।
पाँच बुँदे निर्णय
-
सर्लाहीका धनकौल, बगदह लगायतका चिनी मिलहरूमा बक्यौता रकम भुक्तानीका लागि ज्ञापन पत्र बुझाइने।
-
जिल्ला प्रशासन कार्यालयमार्फत किसानहरूको समस्या समाधानका लागि ज्ञापन पत्र पेश गरिने।
-
गहुँ खेतीका लागि किसानहरूलाई आवश्यक पर्ने विऊ विजन सहज रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइने।
-
रासायनिक मलको अभाव हटाउन र सहज आपूर्ति गर्न सम्बन्धित निकायसँग पहल गरिने।
-
किसानहरूको हक र अधिकारका लागि थप संघर्षका कार्यक्रमहरूको योजना बनाइने।
किसानको समस्या दीर्घकालीन समाधानको माग
भेलामा सहभागी किसानहरूले सरकारले किसानहरूको समस्या सधैं पन्छाउँदै आएको गुनासो गरेका छन्। विशेषगरी उखु किसानहरूले वर्षौंदेखि चिनी मिलहरूबाट भुक्तानी नपाएको र मल, विऊ विजन जस्ता कृषि सामग्रीहरूको अभावले खेतीमा थप समस्या परेको बताएका छन्।
समितिका संयोजक यादवले किसानहरूको हक र अधिकार सुरक्षित गर्न आफूहरूले संघर्ष जारी राख्ने बताए। उनले किसानहरूका समस्यालाई शीघ्र समाधान नगरे थप ठोस आन्दोलनका कार्यक्रमहरू ल्याइने चेतावनीसमेत दिएका छन्।
चिनी मिलहरूको भूमिका
सर्लाहीका विभिन्न चिनी मिलहरूले किसानहरूको उखु बक्यौता भुक्तानी गर्न ढिलाइ गरिरहेका छन्। यसले किसानहरूको आर्थिक अवस्था नाजुक बनाउँदै लगेको छ। यस समस्यालाई सम्बोधन गर्न किसान समिति र स्थानीय प्रशासनको समन्वयमा पहल हुने अपेक्षा गरिएको छ।
किसान भेलामा सर्लाहीका किसानहरूको ठूलो सहभागिता रहेको थियो। उनीहरूले सरकार र सम्बन्धित निकायले आफ्ना मागहरूलाई गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिएका छन्।