काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि पहिलो लटको खोप आइपुगेको छ ।
‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप आएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले मंगलबार बेलुका ४ लाख ६० हजार भाइल खोप आइपुगेको जानकारी दिए ।
‘एचपीभी खोप अभियानका लागि कुल १७ लाख ७० हजार २० भाइल खोप आउने र त्यसमध्येको पहिलो लट मंगलबार राति आइसकेको छ । पटक–पटक गरी पुस अन्तिमसम्म सबै खोप आइसक्छ,’ डा. गौतमले अनलाइनखबरसँग भने ।
२२ माघबाट सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ । पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप निःशुल्क दिने भएको हो ।
‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरसविरुद्धको खोप दिन लागिएको हो । डा. गौतमका अनुसार करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन् ।
गत वर्ष नै सरकारले एचपीभीविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । जसमा सातै प्रदेशका अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार बालिकालाई खोप दिइएको थियो । अब आउने खोप अभियान भने विद्यालय केन्द्रित हुनेछ ।
एचपीभी खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्ने छ । १८ हजार ९०० वटा विद्यालयलाई खोपका लागि केन्द्र तोकिएको छ । त्यस बोहक विद्यालय बाहेकका स्वास्थ्य संस्थामा ८ हजार केन्द्र तोकिएको छ ।
डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिने बताए । ‘माघदेखि विद्यालय तहमा गएर बालिका दिने योजना बनाएका छौं,’ गौतमले अनलाइनखबरसँग भने, ‘विद्यालय बाहिर भएका बालबालिकालाई पनि स्वास्थ्य संस्थाबाट खोप दिन्छौं ।’
उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताए । तर यो अभियान यस वर्षको मात्र होइन । यसलाई नियमित खोपको कार्यक्रममा समावेश गरी १० वर्षको बालिकालाई मात्रै दिने सरकारको योजना छ ।
‘अर्को वर्षदेखि एचपीभी खोप नियमित खोप कार्यक्रममा समावेश गरिनेछ । यस वर्ष गाभी सहयोगमा प्राप्त भएको हो । तर नियमित खोप सञ्चालन गरेरपछि सरकारले नै खरिद गर्नुपर्ने हुन्छ,’ उनले भने ।
यो खोप चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको सिकोलिन ब्रान्डको हो, जसले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको छ । यद्यपि यो अभियान मुख्यतया गाभीको सहयोगमा सञ्चालन हुँदैछ ।
चिकित्सकका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक दुई हजारको मृत्यु हुने गरेको छ ।
नेपालले दक्षिण पूर्वी एसियाको रणनीतिअनुसार पाठेघर मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने भन्ने नीति लिएको कारण सरकारले नियमित खोप सञ्चालन गर्ने योजना बनाएको हो ।
चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुन्छ । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् ।
महिला र पुरुष एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुने स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी बताउँछन् ।
डा. सुवेदीले अगाडि भने, ‘सामान्यतया १४ वर्षमुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन । भाइरसको प्रवेश गर्नुभन्दा अगाडि नै खोप लगाउन सक्दा बढी प्रभावकारी हुन्छ ।’
चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धुम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनुले हुने गर्छ ।