बिरगंज । मधेस प्रदेशका पूर्व प्रदेश सांसद प्रह्लाद गिरी गोस्वामी फेरि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) नेकपा एमालेमा फर्किएका छन् । बुधवार काठमाडौँस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीलाई खादा ओढाएर पार्टीमा स्वागत गरे ।
केही समयअघि डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध भएका गिरी पार्टी परित्याग गर्दै पुनः एमाले रोजेका हुन् । बारम्बार पार्टी परिवर्तन गर्ने गिरीको राजनीति यथार्थले उनीमाथि “दलबदलु नेता” को छवि बनाइदिएको छ, जुन उनका आलोचकहरूबाट बारम्बार दोहोर्याइन्छ ।
गिरीको राजनीतिक जीवन कम्युनिस्ट आन्दोलनबाट सुरु भएको हो । २०५१ सालमा नेकपा एमालेबाट संसद् सदस्यका लागि उम्मेदवारी दिएका गिरी निर्वाचनमा पराजित भए । त्यसपछि २०५८ सालमा एमाले परित्याग गरेर स्व. सलीम अन्सारी नेतृत्वको समाजवादी पार्टीमा पुगे । समाजवादी पार्टीको गतिविधिमा धेरै समय नबिताउँदै उनले कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल रोजे, जहाँ उनले राजतन्त्रको पक्षमा वकालत गरे । तर, त्यहाँ पनि टिक्न नसकी उनले राप्रपालाई बिदा गरे र भूमिगत गोइत समूहमा प्रवेश गरे । गोइत समूहमा सक्रिय रहँदा उनले सङ्गठन विस्तारमा केही प्रयास गरे, तर चाँडै नै गोइतसँगको सहकार्य पनि तोडियो ।
गोइत समूह छाडेपछि गिरीले आफ्नै नेतृत्वमा “संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा” नामक भूमिगत समूह स्थापना गरे । तर यो मोर्चाले पनि उल्लेखनीय प्रभाव जमाउन सकेन । केही समयपछि शान्ति वार्ताको माध्यमबाट उनलाई राजनीतिक मूलधारमा ल्याउने पहल भयो, जसमा एमालेकै नेताहरूले भूमिका खेले । वार्तापश्चात् आफ्नो समूहलाई विघटन गर्दै उनी मूलधारको राजनीतिमा फर्किए ।
शान्ति प्रक्रियापछि प्रचण्ड नेतृत्वको माओवादी रोजेका गिरी २०७० सालको संविधानसभामा माओवादीको तर्फबाट उम्मेदवार बने । तर, यस पटक पनि उनी एमालेका उम्मेदवार राजकुमार गुप्तासँग पराजित भए । माओवादीबाट पराजय पछि निराश गिरी पुनः एमालेमै फर्किए । तर २०७४ को स्थानीय निर्वाचनअघि उनले एमालेमाथि “मधेसी जनताको विश्वासघात गरेको” आरोप लगाउँदै एमाले छोडे । त्यति बेला मधेसमा फोरम नेपालले उठाएको संविधान संशोधनको मुद्दालाई समर्थन गर्दै उनी उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरममा प्रवेश गरे ।
गिरीले सङ्घीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यको निर्वाचन लडे र मधेस आन्दोलनको वातावरणमा विजयी भए । आफ्नो पाँच वर्षे कार्यकालमा उनले मुख्यमन्त्रीको आकाङ्क्षा व्यक्त गरे पनि राज्यमन्त्री बन्ने अवसर समेत पाएनन् । फोरम नेपाल, नयाँ शक्ति र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) मा पनि उनी संलग्न भए। तर, पार्टी विभाजनपछि उनले महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजे ।
गत प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको समयमा उनले पुनः पार्टी परिवर्तन गरे । गठबन्धनका कारण एमालेले टिकट दिन नसकेपछि उनी माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी - एकीकृत समाजवादी (नेकपा एस) मा प्रवेश गरे र प्रदेशसभा निर्वाचन लडे । तर, मतदाताले यस पटक उनको विचार र कदमलाई स्वीकार गरेनन्, जस कारण उनी पराजित भए । निर्वाचनपश्चात् पनि केही समय नेकपा एसमा सक्रिय रहेका गिरीले डा. सिके राउत नेतृत्वको जनमत पार्टी रोजे । तर, उनलाई आफ्नो पुरानो राजनीतिक घर नेकपा एमालेमा फर्किन लामो समय लागेन । आज उनले पुनः एमालेमा प्रवेश गरेका छन् ।
गिरीले यति धेरै राजनीतिक दलको यात्राको कारण आफ्नो नाम मात्र नभई छवि पनि बदलिरहेका छन् । राजनीतिक स्वार्थका लागि पार्टी परिवर्तन गर्ने उनको निरन्तर अभ्यासले जनता र मतदातासँगको विश्वास गुमेको देखिन्छ । यद्यपि, नेकपा एमालेले उनलाई पुनः आफ्नो घर फर्काएको छ, तर यो कदमले गिरीको राजनीतिक पुनर्स्थापना सम्भव हुनेछ कि नाइँ भन्ने विषय अझै अनिश्चित छ । राजनीति अस्थिरतामा रमाएका र पार्टीहरूलाई आफ्नो चरण मात्र बनाउने गिरीको यस निर्णयलाई उनको पछिल्लो दलबदलको कडीको रूपमा हेरिएको छ ।