सर्लाही । सर्लाहीको बागमतीमा लामो समयदेखि जीर्ण अवस्थामा रहेको क्षेत्रीय सडक कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् ।
बागमती नगरपालिकाले पूर्व–पश्चिम राजमार्गस्थित पुतली चोकदेखि दक्षिणतर्फ वडा नं. ४ र १२ मा पर्ने क्षेत्रीय सडक कालोपत्रे गरेको हो । सो सडक अन्तर्गत रेल्वे पुुलदेखि सुकुुम्वासी बस्ती रहेको क्षेत्र र जिरायत बजार आसपासमा सडकको अवस्था अत्यन्त खराब थियो ।
वडा नं. ४, ११ र १२ को सडक कालोपत्रे योजना अन्तर्गत १८ करोड रुपियाँ बजेट विनियोजन गरिएको र सोही बजेटबाट क्षेत्रीय सडक कालोपत्रे गरिएको बागमती नगरपालिकाका सब–इन्जिनियर सुजन बडालले जानकारी दिनुुभयो । बडालका अनुसार बेस र सब–बेसको काम उपभोक्ता समितिमार्फत तथा कालोपत्रेको काम ठेकेदारबाट गराइएको हो ।
पाँच वर्षअघि नै कालोपत्रे भएको क्षेत्रीय सडकमा छोटो अवधिमै पिच उप्किएर अत्यधिक खाल्डाखुुल्डी परेको थियो । यसअघि पातलो कालोपत्रे (ओटासिल) गरिएको थियो ।
त्यस ठाउँमा अहिले सडक फराकिलो पारेर पहिलेको तुलनामा उच्चस्तरीय (अस्पाल्ट) प्रविधिबाट कालोपत्रे गरिएको सब–इन्जिनियर बडालले बताउनुुभयो । यो कालोपत्रे पहिलेको तुलनामा टिकाउ हुने प्राविधिकले बताएका छन् ।
कार्यवाहक नगप्रमुखको जिम्मेवारीमा रहेका बागमती नगरपालिका ४ का वडाध्यक्ष कृष्णकुमार लामाले नगरभित्र अधिक प्रयोग हुनेमध्ये प्रमुख मार्गका रुपमा रहेको क्षेत्रीय सडक कालोपत्रे भएसँगै आवतजावतमा सहज भएको बताउनुुभयो । नगरपालिकाले विनियोजन गरेको १८ करोड रुपियाँ बजेटबाट पुतल चोकदेखि उत्तरतर्फको भित्री सडक र रेल्वे पुलदेखि बागमती माछापोखरीसम्म पुुग्ने सडक समेत कालोपत्रे हुने बागमती नगरपालिकाले जनाएको छ।
क्षेत्रीय सडक अन्तर्गत रेल्वे पुलदेखि जिरायत बजारसम्मको सडक धमाधम कालोपत्रे भइरहेकोमा रेल्वे ट्रयाकदेखि उत्तरतर्फ पुतली चोकसम्मको सडक केही समयअघि मात्रै कालोपत्रे गरिएको सब–इन्जिनियर बडालले जानकारी दिनुुभयो ।