पर्सा । पर्साको बहुदरमाई नगरपालिका यतिखेर देशमै चर्चाको नगरपालिका बनेको छ । केही महिना अगाडि मेयर सिंहासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफा बीच मुचिदै आएको विवाद गएको शुक्रबार नगरपलिका भएको तोडफोड र आगजनीको निकै चर्चामा आएको छ ।
बहुदरमाई नगरपलिका गएको शुक्रबार बिहान केही उष्रृखल विद्यार्थीद्वारा गरिएको तोडफोड र आगजनीको सम्पूर्ण जिम्मेवार नगर प्रमुख तेली नै हुन भने उपमेयर लगायतका जनप्रतिनिधिहरुले आरोप लगाएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उपमेयर शुष्मा कुशवाहा , वडा अध्यक्षहरू जितेन्द्र पटेल , प्रमोद यादव , दिनेश यादव , सुरेन्द्र यादव , सुनिल महत्तो कोइरी , रवीन्द्र प्रसाद गुप्ता , कार्यपालिका सदस्य नगिया देवी पासवान , सुनिता देवी , सम्सा खातुन र मुकदेव साह कानुसमेतले नगर प्रमुख तेलीका एकलौटी निर्णय र हैकमबादी रवैयाले तोडफोड तथा आगजनी भएको आरोप लगाएका छन् ।
स्थानीय तहको सरकार सञ्चालनमा देखिएको समस्याले बहुदरमाई नगरवासी निकै दुखी भएका छन् । नगरपालिका मात्रै होईन ठेकेदार र व्यावसायीलाई निर्वाचित बनाएका स्थानीय सरकारहरुको हालत देखेर अहिले मतदाताहरु निकै निराश बनेका छन् । बह्ुदरमाई नगरपालिकामा राजनीतिक दलहरुको जुँगाको लडाँईले अहिले अवस्था बेहाल बनेको छ ।
६ महिनादेखि सामुदायिक विद्यालयका शिक्षकहरु, कर्मचारीहरुले तलब सुविधा नपाएको गुनासो, स्वास्थ्य संस्थाहरुमा औषधि नभएको गुनासो, विद्यालयमा पठन पाठन नभएको गुनासो बग्रेल्ती छन् । यी गुनासोको सम्बोधन गर्न माग भईरहँदा नगर प्रमुख सिंगासन सा तेलीको भने एकसुत्रीय एजेण्डा प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाको सरुवा भएपछि मात्रै काम गर्न सकिन्छ ।
एउटा सरकारी कर्मचारीदेखि स्थानीय तहको सरकारको नेतृत्व गर्ने सरकार प्रमुख यति पूर्वाग्रही भएर आफ्नो नगरपालिकालाई नै बर्बाद गर्नतर्फ अग्रसर हुनुपर्ने कारण के हो ? यो प्रश्न अब बहुदरमाई नगरपालिकाका नागरिकहरुले सोध्न थालेका छन् । नगर प्रमुख प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुनपर्ने अडानमा छन् ।
सरकारी कर्मचारी प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफा आफू त्यहि पालिकामै बस्छु भनेर अड्डी कसेका पनि छैनन् । उनी अहिले जिल्ला समन्वय समितिको समन्वय अधिकारीको रुपमा पनि कार्यरत छन् । तर, नगर प्रमुख तेली एउटा प्रशासकीय अधिकृतको सरुवा नै बटम लाईन बनाएर बसेका छन् ।
उनी प्रमुख प्रशासकीय अधिकृतप्रति यति धेरै असन्तुष्ट हुनुको केही स्वार्थ लुकेको पनि हुनसक्ने आशंकाहरु छन् । किनभने २०८१ सान ७ गते सम्म बहुदरमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मुस्तफा नै हुँदा विभिन्न कर्मचारी भर्नामा सहमत हुने नगर प्रमुख तेली त्यसपछि २०८१ असोज २० गते निकालिएको स्वास्थ्य सेवाका लागि अनमी र हे.इ. को भर्नापछि एकाएक नगर प्रमुख तेली र प्रमुख प्रशासकीय अधिकृत मुस्तफाबीच सम्बन्ध बिग्रियो । त्यहिबेला देखि बहुदरमाई नगरपालिकाका प्रमुख तेली आफ्नो हठमा बसिरहेका छन् ।
नगरपालिकाले निकालेको विज्ञापनमा कर्मचारी भर्नाका लागि छनोट हुदै गर्दा नगर प्रमुख तेलीले सूचना निकालेर भर्ना नलिन निर्देशन दिए । उनले आफूले भनेका व्यक्तिहरुलाई स्वास्थ्य शाखामा नियुक्ति नगर्दा असन्तुष्ट भएर भर्ना नै रद्द गरिदिए । नगर प्रमुख तेली त्यतिमा शान्त बसेनन् बरु उनले वडा अध्यक्षहरुलाई समेत बजेटको सिलिङमा अंकुश लगाउने प्रयास गरे । जसले गर्दा उनलाई नगरसभा बोलाउन चुनौती भयो । संघीयताको मूल आधारको रुपमा रहेको वडा कार्यालयहरुलाई बजेटको सिलिङमा अंकुश लगाएर एकतृत बजेट सञ्चालन गर्ने उनको निहित उद्देश्य पूरा हुन वडा अध्यक्षहरुले दिएनन् ।
अहिले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयमा वडा अध्यक्षहरु पनि नगर प्रमुख तेलीको पक्षमा छैनन् । नगर प्रमुख तेलीको गलत गतिविधिले नै बहुदरमाई नगरपालिकामा विकास अवरुद्ध भएको वडा अध्यक्षहरुको आरोप छ । समयमा नगरसभा समेत सम्पन्न गर्न नगरप्रमुख तेलीले सकेनन् । जसोतसो नगरसभा सम्पन्न गरेपनि अहिले फेरी कानून विपरित प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको हितमा काम गरेन भनेर ओठे जवाफ दिदै बजेट सञ्चालनको अख्तियारी दिन मानेका छैनन् । जसले गर्दा अहिले बहुदरमाई नगरपालिकाको अवस्था बेहाल बनेको छ ।
बजेट सञ्चालनको अख्तियारी नपाउँदा वडा कार्यालयहरु समेत बन्द गर्नुपर्ने अवस्था आईलाग्यो । सेवाग्राहीको काम गर्न वडाहरुमा प्रिन्टका लागि कागज नहुने, स्वास्थ्य चौकीहरुमा औषधि नपाईने, सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको पठनपाठन नियमित नहुने जस्ता समस्याहरु एकपछि अर्को थपिदै गयो । तर, नगर प्रमुख तेली भने अझैपनि प्रमुख प्रशासकीय अधिकृतको सरुवा भन्दा एक इञ्च तलमाथि हुन चाहेका छैनन् । उनी भन्छन्, ‘मन्त्रीजी (संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ता) लाई भनेको छु ।
अर्को कुनै मान्छे पठाईदिनु काम गर्न तयार छु । तर, उहाँसँग काम गर्दिनँ ।’ स्थानीय सरकार प्रमुख एकजना सरकारी कर्मचारीदेखि यति धेरै डराईरहनुपर्ने कारण किन ? उनी भन्छन्, ‘मन्त्रीजीले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा नै गरिदिनु भएन ।’ तर, रोचक विषय के हो भने प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको दशै अघि नै सरुवा भईसकेको थियो । उनै नगर प्रमुख तेलीले उनको सरुवा रोकेका थिए । बहुदरमाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुनिल महतो कोईरीका अनुसार प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको तीन पटक सरुवा भएको थियो । तर, सरुवा उनै मेयर तेलीले रोकेका हुन् ।
बहुदरमाई नगरपालिकामा वास्तविक झगडा, मेयर भर्सेस उपमेयर र वडा अध्यक्षहरुको हो । प्रमुख प्रशासकीय अधिकृत तटष्थ बसिदिँदा उनलाई विवादमा पारेको प्रमुख प्रशासकीय अधिकृत मुस्तफा बताउछन् । उनका अनुसार विवाद समाधानका लागि मंसिर २५ गते पर्साका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समितिको बैठक पनि बोलाईएको थियो ।
उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत मुस्तफा उपस्थित भएपनि नगर प्रमुख र उपप्रमुख उपस्थित नभएपछि बैठक हुन सकेन । मंसिर २६ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत मुस्तफा कार्यालयमा पनि गएका छैनन् । उनी भन्छन्, ‘मेयरसाबले आफूसँग काम गर्न नसक्ने भनेपछि किन जाने भनेर कार्यालयको ल्यापटप समेत जिम्मा दिएर कार्यालयमा गएको छैन । तर, मलाई बदनाम गर्ने काम भईरहेको छ ।’ स्रोतका अनुसार प्रमुख र उपप्रमुखको कार्यकक्षको ढोका प्राय खुल्ला नै रहने गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतकोमा पनि पहिले खुला रहने गरेकोमा अनावश्यक व्यक्तिहरु प्रवेश गर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकक्षमा ताला लगाउन थालेका थिए । ती बाहेक जिन्सी शाखा, लेखा शाखा र विषयगत समितिको शाखामा समेत ताला लगाईएको हुन्छ ।
नगरपालिकामा अघिल्लो दिन तालाबन्दी गर्दासम्म मेयरलाई कुनै चासो चिन्ता भएको थिएन । भोलीपल्ट विद्यार्थीहरुले नगरपालिका कार्यालयमा प्रवेश गरेर कागजपत्र निकाल्दासम्म र फर्निचर निकाल्दासम्म पनि नगरपालिकाको तलब खाएर बसेका नगर प्रहरीहरु र नजिकै रहेको प्रहरीले पनि नरोक्नु तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमात्रै छोडेर अन्य कोठाको फर्निचरहरु तोडफोड र आगजनी हुन थालेपछि सुरक्षा बल र मिडिया सहित मेयर पुग्नुले पनि सुनियोजित नै हो भन्ने अडकलवाजी हुन थालेको छ । बहुदरमाई नगरपालिकाका अन्य राजनीतिक दलका नेताहरुले पनि घटनाको निन्दा र भ्रत्र्सना गर्दै दोषीलाई कारवाही गर्न माग गरेका छन् ।