जनकपुरधाम, पुष ७ गते । मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिबारीले किशोरीहरु शिक्षित भएमात्र समाज परिवर्तन हुने भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभएको छ ।
प्लान इन्टरनेशनलको सहयोगमा सामुदायिक परिवार कल्याण संघले आइतबार किशोरीहरुको आत्मविश्वास बढाउनका लागि मन्त्रीकै कार्यकक्षमा गरेको गर्ल टेकओभर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले छोरी चेलीहरु शिक्षित भएमा मधेश प्रदेशमा देखिएका बालविवाह, दहेज प्रथाजस्ता कुरीतिहरु आफै समाप्त भएर जाने उहाँले बताउनुभयो । मन्त्री शर्माले छोरीहरुलाई माथि उकास्नका लागि मधेश प्रदेश सरकारले शुरुवातदेखि बेटी पढाउ बेटी बचाउ अभियान सञ्चालन गरी विभिन्नखालका कार्यक्रमहरु सञ्चालन गर्दैआएको बताउनुभयो ।
उहाँले मधेश प्रदेशमा शिक्षकको अभाव रहे पनि पदपुर्ति गर्ने अधिकार संघ सरकारमा रहेको कारण पदपुर्ति हुन नसकेको बताउनुभयो । उहाँले तत्कालका लागि शिक्षकको संख्या बढाउनका लागि मधेश प्रदेश सरकारले सीमित श्रोतसाधनमा स्वयमसेवक शिक्षक कार्यक्रम अघि बढाएको भन्दै कार्यक्रममा सहयोगका लागि दातृनिकायलाई आग्रह गर्नुभयो ।
उहाँले संविधानले नै प्रदेश र स्थानीय तहलाई अलग अलग राखेको भए पनि प्रदेशले स्थानीयतहका लागि विभिन्न कानूनहरु निर्माण गरी स्थानीय तहसँग सम्बन्ध बनाउन प्रयत्न गरिरहेको बताउनुभयो ।
उहाँले विद्यालयमा सञ्चालनमा आएको ल्यावको उपकरण दिने अधिकार प्रदेश सरकारलाई भए पनि सञ्चालन गर्ने अधिकार नरहेको कारण धेरैजसो ल्यावहरु लथालिङ्ग अवस्थामा रहेकाले यसलाई व्यवस्थित गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
गर्ल टेक ओभर कार्यक्रम अन्तर्गत मन्त्री शर्माले कक्षा ११ मा अध्यनरत धनुषाको विदेह नगरपालिका वडा ३ का १८ वर्षिय चाँदनी पासवानलाई केहीवेरका लागि मधेश प्रदेशको शिक्षा तथा सँस्कृति मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।
कार्यक्रममा प्लान इन्टरनेशनल पूर्व क्षेत्रीय कार्यालय जनकपुरधामका प्रमुख रवि शंकर पण्डित,सामुदायिक परिवार कल्याण संघका कार्यकारी निर्देशक लक्ष्मेश्वर मण्डल, कार्यक्रम संयोजक यमलाल शंकर, सहितकाको उपस्थिती रहेको थियो ।