शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेकामा चिकित्सकहरूले जोड दिएका छन्। विश्व ध्यान दिवसका अवसरमा कैलाशकुट सामाजिक अभियानले काठमाडौँको हाँडीगाउँमा आयोजना गरेको स्वस्थ जीनशैली र तनाव व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि कार्यक्रमका वक्ताहरूले तनाव व्यवस्थापनमा ध्यान दिन आग्रह गरे।
शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सा विभागका प्रमुख डा. सरोजप्रसाद ओझाले स्वस्थ जीवनका लागि योग र ध्यानलाई स्वभावका रूपमा विकास गर्न आवश्यक रहेको बताए।
स्वस्थ जीवनशैली भनेको आहार, विश्राम र व्यायाम भएको उल्लेख गर्दै उनले शरीरलाई सक्रिय र मनलाई शान्त राख्नुपर्ने बताए। डा. ओझाले तनावलाई दिमागमा राखिराख्दा दीर्घरोग उब्जने भएकाले तनावको छिटो र सहज व्यवस्थान आवश्यक रहेको उल्लेख गरे।
मनोचिकित्सक डा. सरोज शाक्यले शरीर र मनमा नकारात्मक प्रभाव पार्ने विषयमा संयम अपनाउन सुझाव दिँदै तनाव व्यवस्थापनले दीर्घरोगबाट बचाउने बताए। उनले तनावको व्यवस्थापन र स्वस्थ जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने बताए।
काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जीवनलाई सार्थक बनाउन स्वास्थ महत्त्वपूर्ण पक्ष भएकाले वडामा स्वास्थ प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए। उनले स्वास्थ, शिक्षा र वडाको संस्कृति एवं सम्पदाको संरक्षणमा विशेष ध्यान दिइने उल्लेख गरे।
कैलाशकुट सामाजिक अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठले रोग लागेपछि उपचार गर्नेभन्दा पनि रोगै लाग्न नदिनका लागि स्वास्थसम्बन्धी चेतनामूलक कार्यक्रममा जोड दिइएको बताए। अभियानले संस्कृति, सम्पदा र स्वास्थ प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ।