काठमाडौं, १० पुस । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा कांग्रेस र कम्युनिष्ट मिल्दै आएका बताएका छन् ।
नेपाल पत्रकार महासंघको नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले ऐतिहासिक परिवर्तन गर्न र मुलुकको सङ्कट समाधान गर्न कांग्रेस एमाले एक ठाउँमा उभिने गरेका बताएका हुन् ।
‘मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन्, राष्ट्रिय सङ्कट परेको बेलाका कांग्रेस र कम्युनिष्ट मिलेका छन्’, उनले भने । देशमा अप्ठेरो स्थिति परेको बेलमा मिलेका भए पनि कांग्रेस र एमाले एक आपसका प्रतिस्पर्धी शक्ति हुन् भन्ने कुरा बिर्सन नमिल्ने पोखरेलको भनाइ छ ।
कहिलेकाहीँ यो प्रतिस्पर्धा अस्वस्थ पनि हुने गरेको बताउँदै उनले त्यसलाई अस्वस्थ हुनबाट जोगाउन सबै लाग्नु पर्नेमा जोड दिए । पत्रकारको समाजमा दोहोरो भूमिका भएको बताउँदै पोखरेलले लेख्न बस्दा भने पत्रकारले व्यावसायिक धर्म बिर्सनु नहुने बताए । ‘पत्रकारिताको धर्म पालना गर्दा व्यावसायिकताको झण्डालाई झुक्न दिनु हुँदैन, यो कुरामा सन्तुलन कायम गर्नुपर्छ, मादल बजाउँदा हार्मोनियम छुट्ने, हार्मोनियम बजाउँदा मादल छुट्नु हुँदैन’, उनले भने ।
पत्रकारिता क्षेत्रले सधैँ साँचो कुरा लेखिदिउन् भन्ने राजनीतिक क्षेत्रलाई लागि रहेन उहाँले बताउनुभयो । ‘झुट कुरा लेखेर बजारीकरण गर्न खोज्दा पीडा पनि हुन्छ, रिस पनि उठ्छ, दुःख पनि लाग्छ’, पोखरेलले भने ।
एउटा राजनीतिकर्मीको प्राप्त गरेको हैसियत सार्वजनिक सम्पत्ति हुने बताउँदै उनले त्यसलाई बदनाम गराउने अधिकार कसैलाई नहुने र उसले बदमासी गरे पब्लिक अडिट हुने पोखरेलको धारणा छ।