बिरगंज । पर्सा जिल्लाको बालसंगठनको जग्गा कौडीको मोलमा लिज लिएका डा. दीपक शाक्यले बहाल समेत तिरिरहेका छैनन् । वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. शाक्य नेपाल बाल संगठन पर्साको सदस्य हुँदा आफ्नै छोरा संकल्प शाक्यको नाममा वीरगञ्जको मुटु मानिने आदर्शनगरको १२ कठा जग्गा २७ वर्षको लागि लिजमा कौडीको मोलमा लिएका थिए । त्यस जग्गामा रहेको बाल संगठनको भवन समेत सोही रकममा लिज दिएको देखिन्छ । तर उनले कबोल गरेको रकम पनि हालसम्म दाखिला गरेका छैनन् ।
डा. शाक्यले छोरा संकल्प शाक्यको नाममा लिजमा लिएको सो जग्गामा आदर्श विद्यालय चलाउँदै आएका छन् । २०६८ असार २१ गते भएको सम्झौता अनुरुप २ वर्षको लागि १ लाख ६१ हजार र त्यसपछि महिनाको २१ हजार १ सयको दरले बाल संगठनलाई दिने उल्लेख छ । सम्झौता पत्रमा प्रत्येक तीन वर्षपछि मासिक भाडामा १० प्रतिशत रकम वृद्धि हुने शर्त राखिए पनि डा. शाक्यले त्यस अनुरुपको रकम बाल मन्दिरलाई बुझाएका छैनन् ।
नेपाल बाल संगठनका केन्द्रीय सदस्य पराग सिंहका अनुसार हालसम्म डा. शाक्यले १३ वर्षको अवधिमा पटक पटक ताकेता गरेपछि जम्मा १६ लाख रुपैयाँ दाखिला गरेका छन् । जरिवाना बाहेक २१ लाख भन्दा बढी रकम असुल गर्नुपर्ने देखिएको उनले बताए । बहाल रकम जम्मा नहुँदा बाल संगठनको अडिटसमेत हुन नसकेको सिंहले बताए । आदर्शनगरको मुख्य चोकमा रहेको सो जग्गा कठ्ठाको मासिक कम्तीमा १ लाख रुपैयाँ बहाल आउने देखिन्छ ।
महिनाको १२ लाखकै दरले वर्षको १ करोड ४४ लाख रुपैयाँ बहाल आउने जग्गा शाक्यले २ लाख ५३ हजारमा उपभोग गरिरहेका छन् । २०६७ सालको चैत ९ गते बाल संगठनको तत्कालीन अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा बसेको बैठकबाट डा. शाक्यले जग्गा २२ वर्षीय छोरा संकल्प शाक्यको नाममा लिज लिएका थिए ।
डा.शाक्य समेत सदस्य रहेको बाल संगठनको जग्गा लिजमा दिने निर्णयमा ४ जना अनुपस्थित रहेका थिए । स्थानीय वासिन्दाहरुका अनुसार शाक्यले कार्य समितिलाई प्रभावमा पारी बिना सार्वजनिक सूचना जग्गा आफ्नो छोराको नाममा लिजको निर्णय गराएको देखिन्छ । पछिल्लो समय शाक्य मधेश प्रदेश सरकारले स्थापना गरेको मधेश विश्वविद्यालयको उपकुलपति(भीसी) बनेका छन् ।
गत आम निर्वाचनको आचारसंहिता लागु भइसकेको अवस्थामा पुरानो मितिबाट शाक्यलाई तत्कालीन मुख्यमन्त्री मो.लालबाबु राउतले भीसी नियुक्त गरेका थिए । व्यापक आर्थिक चलखेल गरेर शाक्य भीसी नियुक्त भएको आरोप लागेको थियो । तलब सुबिधा मधेश विश्वबिद्यालयबाट बुझ्ने तर आफ्नो निजि वीरगञ्ज पब्लिक क्याम्पसको प्रवद्र्धन र बजारीकरण गर्दै आएका भीसी शाक्यले पछिल्लो पटक सिनेट बैठक गर्न पनि आर्थिक चलखेल गरेको आरोप लागेको छ ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ मात्र बजेट विनियोजन गरे पनि भीसी शाक्य र उनका दुतले प्रदेश सरकारलाई प्रभावित गर्न सफल भएको बताइन्छ । मधेश कृषि विश्वविद्यालयको बजेट रोक्का गरेर पटक पटक छानबिन गराइरहेको प्रदेश सरकारले भने मधेश विश्वविद्यालयको सिनेट बैठक समेत गरेको छ ।
मधेश विश्वविद्यालय स्थापना, भीसी र रजिष्ट्रार नियुक्ति सम्बन्धी निर्णयहरुको कागजात समेत प्रदेश सरकारसित दुरुस्त नरहेकाले केही दिन पूर्व सो विश्वविद्यालयलाई गैरकानुनी रहेको धम्की दिएको बताइएको थियो । मधेश विश्वविद्यालयको स्थापना नै शाक्यलाई चुनावको मुखमा भीसी बनाउन गरिएको विपक्षीहरुले आरोप लगाएका थिए । तर जनमत पार्टीका मुख्यमन्त्री सतीशकुमार सिंहलाई प्रभावमा पारेर उनले सिनेटको बैठक गरी बजेट चलाइरहेका छन् ।
शाक्य अझै वीरगञ्ज पब्लिक क्याम्पसको संस्थापक निर्देशक हुन् । विश्वविद्यालयका कयौँ कर्मचारी, प्राध्यापक र पदाधिकारी शाक्यको कलेजमा कार्यरत्त रहेका छन् । मधेश विश्वविद्यालयले हालसम्म कर्मचारी भर्ना वा प्राध्यापक भर्नाका लागि सार्वजनिक रुपमा आवश्यकताको सूचना समेत प्रकाशन गरेको छैन ।
रकमको चलखेल गरी जग्गा र पद हत्याउन खप्पिस शाक्यले प्रदेश सरकारलाई प्रभावका लिएर विश्वविद्यालयमा समेत अनियमितता गर्न थालेको बताइन्छ । यस सम्बन्धमा डा. शाक्यसित सम्पर्क गर्दा उनले नियम अनुसार नै जग्गा लिजमा लिएको र त्यसबाट कुनै प्रकारको व्यवसायिक लाभ नलिएको दाबी गरे । मधेश विश्वविद्यालय समेत व्यवस्थित रुपमा अगाडि बढेको उनले बताए ।