काठमाडौँ । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले व्यवसायबाट विस्थापित गराउन खोजेको, दुःख दिएको भन्दै कवाड व्यवसायीले पुस १४ गते महानगरको कार्यालय घेर्ने बताएका हुन्।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौं महानगरविरुद्ध लड्न, भिड्न तयार भएर आन्दोलनमा जान लागेको बताए। उनले काठमाडौंका मेयर बालेन शाहलाई रावणको संज्ञा दिए।
‘लड्न, भिड्न र हामी लङ्का दहन गर्नलाई, अब लङ्काको रावणलाई आक्रमण गर्नलाई हामी आउँदो १४ गते काठमाडौं महानगरपालिका कमलादी घेर्ने छौं। काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले रावण बनेर हामीलाई व्यवहार गर्नुभयो। अब हामी राम बनेर हमला गर्ने छौं, लङ्का दहन गर्नेछौं,’– उनले भने।
साथै, काठमाडौं महानगर प्रहरीहरुले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइनजती गरेको उनले बताए। कवाड व्यवासायीहरुले अब महानगर प्रमुख बालेन र नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिनेपनि बताए।
अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेको उनले बताए। काठमाडौं महानगरपालिका प्रमुख शाह धेरै सन्किएको र बहुलाइसकेको टिप्पणी गर्दै उनले अब जेल कोच्नुपर्ने बताए। बालेन देश र महानगरको लागि खतराको रुपमा देखिएको उनको टिप्पणी छ।