वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ ड्राइपोर्ट बहुवरी नजिकै बुधवार बेलुकी भएको सडक दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु भएको छ ।
भारतीय नम्बर प्लेटको तीव्र गतिमा रहेको ट्रकले ना २५ प ९०९१ मोटरसाइकललाई ठक्कर दिँदा बारा जिल्लाको सुवर्ण गाउँपालिका-२ कवहीगोठ निवासी १६ वर्षीय राज मिश्रको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सन्दीप पाण्डे पनि घाइते भएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको बुझिएको छ ।
दुर्घटनापछि स्थानीय बासिन्दाहरू विरोधमा उत्रिएका छन् । आक्रोशित स्थानीयहरूले भारतीय नम्बर प्लेटको ट्रकलाई तत्काल खोजी गरी चालकलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । उनीहरूले भारतीय गाडीको लापरबाही र प्रहरीको निष्क्रियता दुर्घटनाको प्रमुख कारण भएको आरोप लगाएका छन् ।
स्थानीयहरूले घटनास्थलमा प्रहरीको ढिलासुस्ती र सक्रियतामा कमीका कारण दुर्घटनामा परी ट्रक भाग्न सफल भएको दाबी गरेका छन् । उनीहरूका अनुसार दुर्घटना भएको स्थानबाट करिब एक सय मिटर टाढा प्रहरी टोली रहेको भए पनि घटनाको समयमा कुनै प्रभावकारी कदम चाल्न सकेको थिएन ।
घटनामा ट्राफिक प्रहरीको भूमिका पनि शङ्कास्पद रहेको स्थानीयको भनाइ छ । उनीहरूले ट्राफिक प्रहरी नियम पालन गराउन असफल भएपछि ड्राइपोर्ट क्षेत्रमा पटक-पटक दुर्घटना हुने गरेको बताएका छन् । हिजोको दुर्घटनाको समयमा पनि ट्राफिक प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिन चासो नदेखाएको आरोप छ ।
स्थानीय बासिन्दाले वीरगञ्ज महानगरपालिकालाई सडक सुरक्षाको व्यवस्था गर्न बारम्बार आग्रह गरे पनि समस्या समाधान नभएको गुनासो गरेका छन् । सडकमा उचित बत्तीको अभावले रातको समयमा दुर्घटनाको जोखिम उच्च हुने उनीहरूको भनाइ छ । ड्राइपोर्टजस्तो व्यस्त क्षेत्रमा समेत सडक बत्तीको अभावले सुरक्षाको प्रत्याभूति गर्न नसकिएको स्थानीयले बताए ।
दुर्घटनापछि स्थानीयहरूले ड्राइपोर्ट क्षेत्र वरपर प्रदर्शन गर्दै सुरक्षाका उपाय अवलम्बन गर्न माग गरेका छन् । उनीहरूले भारतीय नम्बर प्लेटका सवारी साधनले बारम्बार दुर्घटना गराउने गरेको र प्रहरी प्रशासनले प्रभावकारी कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनका क्रममा स्थानीयहरूले “भारतीय गाडीको लापरबाही बन्द गर”, “प्रहरीको लापरबाही मुर्दावाद”, जस्ता नाराबाजी गरेका थिए ।
विरोध प्रदर्शनका क्रममा स्थानीयहरूले यस क्षेत्रमा पुनः यस्तो घटना नदोहोरिने गरी ठोस कदम चाल्न माग गरेका छन् । उनीहरूले सुरक्षाका लागि ट्राफिक प्रहरीलाई थप जिम्मेवार बनाउन, सडक बत्तीको व्यवस्था गर्न, र भारतीय गाडीहरूको प्रवेशलाई कडाइ गर्न माग गरेका छन् । स्थानीयले माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने चेतावनी पनि दिएका छन् ।