बलिउड सुपरस्टार सलमान खान शुक्रबार जन्मदिन मनाउँदैछन् । उनी ५९ वर्षका भए । तीन दशकभन्दा लामो अभिनय करिअरमा उनले ८५ फिल्ममा अभिनय गरेका छन् । ७४ वटा अवार्ड जितेका छन् ।
उनी परोपकारमा पनि अगाडि छन् । यसका बाबजुद पनि उनको जीवन विवादले भरिएको छ । उनलाई कुनैबेला ‘ब्याड ब्वाय’को संज्ञा समेत दिइयो । सन् १९९८ मा उनको जीवनमा यस्तो घटना घट्यो जसले उनी जेल जान बाध्य भए ।
उक्त वर्ष उनले कालो हरिण सिकारको मुद्दामा जेल जानुपर्यो । मुद्दा दर्ता भएको २६ वर्ष बितिसक्दा पनि विवाद रोकिएको छैन । सोही वर्ष लरेन्स बिस्नोइ ग्याङले सलमानको मुम्बईस्थित निवास ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाएर हत्याको योजना बनायो ।
यो मामिला सन् १९९८ मा कन्कनी गाउँमा सुरु भएको थियो । त्यतिबेला केही गाउँलेले गोली चलेको आवाज सुने र सलमानलाई जिप्सीमा भागेको देखे । सलमानले बन्दुक देखाउँदै भागेको गाउँलेको भनाइ छ ।
यो मामिलामा हरेक पटक सलमानले आफूलाई निर्दोष रहेको बताएका छन् । यस घटनमा सलमानविरुद्ध तीनवटा मुद्दा दर्ता भएका थिए, जसमध्ये दुईवटामा उनले सफाइ पाए । तेस्रो कालो हरिण सिकार मुद्दामा भने गाउँले अझै आफ्नो भनाइमा अडिग छन् ।
मनाए जन्मदिनको पार्टी
सलमानले गएराति परिवारका सदस्य र आफू निकट बलिउडकर्मीबीच जन्मदिन मनाएका छन् । सार्वजनिक भिडियो र तस्वीरमा उनले केक काट्दै उपस्थितलाई खुवाएको देख्न सकिन्छ ।
पार्टीमा सलमानकी प्रेमिका भनिएकी युलिया वन्तुर पनि देखिएकी छिन् । पार्टीमा सोहेल खान, आयुष शर्मा, युलिया वन्तुर, अरबाज खान, शुर खान, बबी देओल, निर्वाण पनि देखिएका थिए । कार्यक्रममा अर्पिता र आयुष छोरीसँगै सलमानको बर्थडेमा पार्टीमा रमाए ।
‘सिकन्दर’को टिजर रिलिज पोस्टपोन्ड
जन्मदिन अवसरमा सलमानको आगामी फिल्म ‘सिकन्दर’को टिजर सार्वजनिक गर्ने तयारी थियो । तर भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि अहिलेलाई पोस्टपोन्ड गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सिकन्दर’को टिजर शुक्रबार बिहान ११ बजे रिलिज हुने तय थियो । तर निर्माताले टिजर रिलिज स्थगित भएको जनाएका छन् । सामाजिक सञ्जालमा मेकर साजिद नाडियावालाले लेखेका छन्, ‘आदरणीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहजीको निधनले हामी दु:खी भएका छौं । अत्यन्तै दुःखका साथ फिल्म ‘सिकन्दर’को टिजर स्थगित भएको जानकारी गराउँछौं ।’
निर्माताले अगाडि लेखेका छन्, ‘टिजर २८ डिसेम्बर बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । शोकको यस घडीमा हाम्रा देशसँगै शोकमा छौं । आशा छ तपाईंले बुझ्नुहुनेछ । धन्यवाद ।’
फिल्म ‘सिकन्दर’लाई दक्षिण भारतीय निर्देशक एआर मुरुगादासले निर्देशन गरेका हुन् । यो फिल्म आगामी वर्षको इदको अवसरमा रिलिज हुँदैछ । यस फिल्ममा सलमानसँग रश्मिका मन्दाना र काजल अग्रवाल देखिनेछन् ।