जनकपुरधाम, पुस १२ गते । जनकपुरधाम उपमहानगरपालिकास्थित मिल्स एरियामा रहेको सिद्धार्थ बैंक लिमिटेडको ऋण व्यवस्थापन प्रक्रियामा उठेको विवादले स्थानीय व्यवसायीहरू आन्दोलित बनेका छन् ।
जनकपुरधाम वडा नं. ८ स्थित वाल्मीकिनगरमा सुद्रिका कुमारी देवीको नाममा रहेको ८ धुर जग्गामा बनेको अढाई तल्ले घर सिद्धार्थ बैंकले बिना प्रक्रिया लिलाम गरेको भन्दै जनकपुरधामका उद्योगी व्यापारी बिहीबारदेखि आन्दोलित भएका हुन् ।
बैंकले ऋणीको सम्पत्ति लिलामी गरेपछि उत्पन्न विवादले बैंकिङ प्रणाली र ऋण व्यवस्थापनको पारदर्शितामाथि प्रश्न उठाएको छ । पीडित सुद्रिका कुमारी देवीका छोरा दिनेश रायले भन्नुभयो, “बैंकबाट दुई पटक गरी कुल ७५ लाख रुपियाँ ऋण लिएको हो ।
ऋण लिएको अवधिभर नियमित रूपमा ब्याज बुझाउँदै आएका थियौं । मैले ८६ लाख रुपियाँ बाँकी रकम तिर्न तयार रहेको र गत नोभेम्बर १३ मा १ लाख रुपियाँ ब्याज बुझाएको थिएँ ।” तर यहाँ बैंकले नियतवश घर लिलामी गर्यो, प्रक्रिया पनि पूरा गरेको छैन, ऋण तिर्छु भन्दा पनि बैंकले अटेरी गरेर घर लिलामी गरेर व्यक्तिको नाममा नामसारी गरिसकेपछि मात्र आफूहरुले जानकारी पाएको पीडितका छोरा रायले बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीसहितले सुद्रिका देवीको समर्थनमा उभिँदै बैंकका शाखा प्रबन्धक अर्नबहादुर बलम्पाकीविरुद्ध कारबाहीको माग गरेका छन् । “यो प्रक्रियाले स्थानीय व्यवसायीहरूको मनोबल गिराउने काम गरेको छ,’’ सङ्घका अध्यक्ष भण्डारीले भन्नुभयो ।
गत शुक्रबार बैंकका शाखा प्रबन्धक अर्नबहादुर बलम्पाकीसँग कुराकानी गरेर जाँदा पनि आइतबारदेखि उहाँले भेट्न आलटाल गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले नियतवश लिलामी गरेको आरोप लगाउँदै भन्नुभयो, “बैंकले यसअघि पनि एक व्यापारीको खातामा जम्मा भएको पैसा जम्मा गर्ने व्यक्तिले फिर्ता लगेको भन्दै पैसा नदिँदा पनि व्यापारी आन्दोलनमा उत्रेका थिए ।”
बैंकको यस्तो कदमले स्थानीय व्यवसायीहरूलाई आक्रोशित बनाएको छ । नाराबाजी गर्दै ठुलो सङ्ख्यामा व्यवसायीहरू बैंक परिसरमा बिहीबारदेखि नै जम्मा भएर आन्दोलन गरिरहेका छन् भने सो क्षेत्रमा सवारीसाधन आवतजावत पनि बन्द गरिएको छ ।
यता प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले विवादका पक्षहरूबिच छलफल गर्न शाखा प्रबन्धक बलम्पाकीलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको बताउनुभयो । उहाँले विवादलाई नियन्त्रण गर्न बैंक परिसरमा प्रहरी परिचालन गरेको बताउनुभयो ।
व्यवसायीहरूले बैंकिङ प्रणालीमा सुधारको आवश्यकता औंल्याउँदै यस्तो घटनाले बैंकको प्रतिष्ठामाथि आघात पुग्ने बताएका छन् ।
पीडित परिवारले घरजग्गा फिर्ताको माग गर्दै पत्रकार सम्मेलनमार्फत न्यायको गुहार गरेका छन् । “हामीले दुई करोडभन्दा बढी ब्याज बुझाइसक्यौं, तर बैंकले हाम्रो सम्पत्तिमाथि अन्याय गर्यो,“ सुद्रिकाका छोरा दिनेश रौनियारले बताउनुभयो ।
विवादले स्थानीय बैंकिङ प्रणालीमा पारदर्शिता, निष्पक्षता र ग्राहकहरूको अधिकारको संरक्षणलाई पुनर्विचार गर्न बाध्य बनाएको छ । बैंकले विवाद समाधानमा उचित पहल नगरे, यसले समाजमा बैंकप्रतिको विश्वासलाई खतरामा पार्न सक्छ ।