पर्सा । एनसिई नेपालद्वारा आयोजित युवाहरुसँग शिक्षा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
पर्साको पोखरीया नगरपालिकाको कार्यालयमा आयोजित एनसिई नेपालद्वारा युवाहरुसँग शिक्षा सम्बन्धी छलफल कार्यक्रममा शिक्षामा भएको समस्या , चुनौती तथा सुझाव बारे छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै एनसिई नेपाल पर्सा जिल्ला अध्यक्ष इब्राहीम देवानले शिक्षा समाजको मेरुदण्ड हो भन्दै शिक्षामा परिवर्तन जरुरी रहेको बताउनुभयो । साथै राज्यले शिक्षालाई सबैभन्दा बढी महत्व दिई त्यस अनुरुप लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो साथै शिक्षाका विद्यमान समस्या र समाधानका उपायहरु बारे प्रस्तुतीकरण गर्नुभयो ।
त्यस्तै पोखरीया नगरपालिका कानुनी सल्लाहकारले विद्यालय पढ्ने विद्यार्थी एवं बालबालिकाहरुको लागि नेपालको संविधान उल्लेखित हक अधिकार बारे जानकरी गराएका थिए ।
कार्यक्रममा बोल्दै एनसीई नेपाल पर्सा सदस्य एवं कार्यक्रम सञ्चालिका राजकुमारी गुप्ताले एनसीई नेपाल संस्था के हो यो संस्थाले केके गर्छ भने विषयमा जानकरी गराउनु भएको थियो ।
एनसीई नेपाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल देशका विभिन्न ४९० राष्ट्रिय / अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु, शिक्षक संगठन, शिक्षामा क्रियाशील संचार माध्यमहरु तथा समुदाय स्तरमा परिचालित संघसस्थाहरुको एक राष्ट्रिय सञ्जाल हो साथै सार्वजनिक शिक्षा सुदृढीकरण गर्ने र प्रत्येक नागरिकको शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ सन् २००३ मा शिक्षाका लागि विश्वव्यापी अभियान नेपाल च्याप्टरको रुपमा आफ्नो यात्रा सुरुवात गरेको यस अभियानले गुणस्तरीय, समावेशी र समतामुलक शिक्षा सुनिश्चितताका लागि स्थापना कालदेखि नै काम गर्दै आइरहेको कुरा गुप्ताले बताइन् ।
एनसिई-नेपाल गुणस्तरीय शिक्षाको सुनिश्चिताका लागि आवाज विहिनहरुको आवाज बुलन्द पार्ने एक नागरिक आन्दोलन हो । समतामूलक समाज निर्माणको आधारको रुपमा 'शिक्षाको अधिकार' लाई स्थापित गर्न नीतिगत पैरवी र कार्यान्वयनमा निरन्तर खवरदारी एवम् साझेदारी गर्दै शिक्षाको नागरिक सञ्जालको रुपमा यो संस्था निरन्तर अगाडि बढिरहेको साथै एनसिई-नेपाल आफ्ना सदस्यहरुबीच विभिन्न अनुभव आदान प्रदान गर्दै उनीहरुका साझा मुद्धा र अभियानमा हातेमालो गर्ने एउटा विशिष्ट मञ्चका रुपमा विकसित भईरहेको कुरा पनि गुप्ताले जानकरी गराउनु भयो ।
कार्यक्रमका सहभागीहरुलाई शिक्षाका समसामयिक १३ वटा प्रश्नहरु उल्ल्खेख गरी सुझाव मागिएको थियो ।
छलफलमा सहभागी विद्यार्थीहरु लगायत अन्य उपस्थिति वक्ताहरुले शिक्षामा सुधारको लागि शिक्षामा कूल बजेटको कम्तीमा २० प्रतिशत लगानी, रणनैतिक योजना र कार्यान्वयन, सामुदायिक विद्यालयको सवलीकरण, पाठ्यक्रम अद्यावधिक, समावेशी शिक्षा, भौतिक, डिजिटल, कक्षाकोठा पूर्वाधारमा लगानी, प्रदेशस्तरमा स्तरीय शिक्षण तालिम केन्द्र, शिक्षक र नेतृत्व वर्गलाई तालिम, पाठ्य सामग्री, प्रयोगशाला, पुस्तकालय, मनोञ्जनका सामाग्री, खेल मैदान तथा सामग्री ब्यवस्गा, शिक्षक नियुक्ति, सरुवामा राजनैतिक अहस्तक्षेप, सवल शैक्षिक, ब्यवसायिक तथा मनोसामाजिक परार्श सेवा –शिक्षा र रोजगारी, अभिभावकहरुलाई सम्मान, सहकार्य र अभिभावक शिक्षा, शिक्षाविदहरुको सहयोगमा अनुगमन, मूल्यांकन मापदण्ड निर्धारण, शिक्षक र सम्बद्धहरुलाई सहयोगात्मक सुपरिवेक्षण , उपयुक्त मापदण्ड सहितको मूल्यांकन अनुगमनमा जोड दिनुपर्ने बताउनु भएको थियो ।