जनकपुरधाम, पुस १५ गते । धनुषा र महोत्तरीमा पर्ने दुधमती नदीको नक्साङ्कनको कार्य आइतबारदेखि सुरु भएको छ । मधेश प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अगाडि सारिएको दुधमती संरक्षण तथा सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत नदी क्षेत्रको जग्गा छुट्याउन छिरेश्वरनाथ नगरपालिकास्थित अर्जनवामा ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको उपस्थितिमा रेखाङ्कन तथा नक्साङ्कन सुरु गरिएको हो ।
मन्त्री एवं दुधमती नदी उच्चस्तरीय उपसमितिका अध्यक्ष यादवले दुधमती नदीको संरक्षण र सौन्दर्यीकरण प्रदेश सरकारको गौरवको आयोजना रहेकाले आयोजना सम्पन्नपछि पर्यटकीय र आर्थिकसहित कृषि क्षेत्रको समेत विकास हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यीबाहेक ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयद्वारा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्ने, बजेटको व्यवस्थापन, डिपिआरपछि टेन्डरलगायतका कार्य अगाडि बढाइने छ ।” नक्साङ्कनमा छिरेश्वरनाथ नगरपालिका–५ स्थित अर्जनवादेखि जनकपुरधाम हुँदै महोत्तरीको मटिहानी सीमासम्म रहेको दुधमती नदी छुट्याइने छ भने नक्साङ्कन कार्य तीन महिनाको रहने छ ।
ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको निगरानीमा सम्पन्न हुने उक्त नक्साङ्कन कार्यमा नापी, मालपोत र स्थानीय प्रशासनको सहभागिता सुनिश्चित गरिएको छ भने नदी सौन्दर्यीकरणपछि यसलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्धन गर्ने योजना प्रदेश सरकारको रहेको छ ।
मधेश प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको दुधमती संरक्षण तथा सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत दुधमती नदी संरक्षण उच्चस्तरीय उपसमितिको गत मङ्गलबार बसेको बैठकले नदी क्षेत्रको जग्गा छुट्याउन नक्साङकन तथा रेखाङ्कन गर्ने निर्णय गरिएको थियो ।