हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–५ बसन्तपुर बाघको आतंकले त्रसित बनेको छ ।
बाघको आक्रमणबाट हिजो (आइतबार) साँझ एक जना वृद्ध महिलाको ज्यान गएको थियो । आज बिहान बाघले बसन्तपुरका सुर्यबहादुर मोक्तानको खोरमा पसेर ७ वटा बाख्रा मारेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बाघले एउटा बाख्रा लिएर जंगल पसेको खबर प्राप्त भएको जानकारी दिएको छ ।
मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमती ७२ वर्षीय कान्छिमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा भेटिएकी थिइन् ।
मृतक रूम्बा घर नजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी भएको थियो । घरबाट करिब ५०० मिटर पूर्वतर्फ रहेको बारीमा शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
बाघलाई नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जबाट २ वटा हात्ती र नेपाली सेनाका मेजर ढलक बहादुर मोक्तान तथा चितवन राष्ट्रिय निकुञ्जबाट समेत टोली खटिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
बाघले आइतबार नै महिलाको ज्यान लिए पनि निकुञ्जले नियन्त्रणमा लिन ढिलो चासो देखाएको भन्दै मनहरीका स्थानीय आक्रोशित बनेका छन् ।
मनहरीमा ४ महिना अघि मात्रै भैंसीले बाघ मारेको थियो । गत ५ भदौमा मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीको घटना मुचुल्का र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रिपोर्टले दाबी गरेको थियो ।