पर्सा । मिहिनेत र परिश्रम गरेर आयोग पास गरेर शिक्षक बन्न जति सजिलो छ । त्यति नै शिक्षक सरुवा जटिल छ बिना पावर, पैसा र सोर्सफोर्सको शिक्षकको सरुवा हुन नसक्ने कुरा शिक्षा विकास तथा समन्वय इकाइ पर्साको प्रमुखले स्पष्ट पारेका छन् । शिक्षक सरुवामा व्यापक राजनीति तथा चलखेल भयो, व्यापक आर्थिक चलखेल भयो, विद्यालय व्यवस्थापन समिति लगायतकाले आफ्ना पार्टी, आफ्ना नातागोता र आफन्तलाई मात्र सरुवा सहमति दिने र सरुवा गराउने परिपाटी भन्यो लगायतका व्यापक विरोधाभाष तथा पूर्वाग्रहबाट शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन वाञ्छनीय भएकाले शिक्षा नियमावली, २०५९ को नियम १९२ को खण्ड (ङ) ले दिएको अधिकार प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मिति २०८१/०२/१३ मा शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो ।
केही समयदेखि सरुवाको आखडा बनेको पर्साको बिन्दवासिनी गाउँपालिकामा फेरी पनि नियमविपरीत र गैरकानुनी तरिबाकाबाट सरुवा भएको छ । निर्देशिका बमोजिम विद्यालयले विव्यसको निर्णयानुसार पालिकामा शिक्षक सरुवाको लागि माग गर्दा स्थानीय तह वा पालिकाले सूचना प्रकाशन गर्नुपर्ने (सामाजिक सञ्जाल, वेबसाइटमा प्रकाशन गर्नुपर्ने), शिक्षा विकास तथा समन्वय इकाइमा पनि सूचना दिनुपर्ने (इकाइले पनि सामाजिक सञ्जाल, वेबसाइटमा सूचना प्रकाशन गर्नुपर्ने) शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बोधार्थ दिनुपर्ने (केन्द्रले पनि आफ्नो वेबसाइटमा सूचना प्रकाशन गर्ने गरेको व्यवस्था रहेको) सूचना दिनुपर्ने व्यवस्था रहेको छ । सूचनालाई व्यवस्थित गर्न सम्बन्धित विद्यालयदेखि केन्द्रसम्म सबैले सामाजिक सञ्जाल तथा बेब साइटमा पनि प्रकाशन गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।
तर इकाइ प्रमुख कै मिलोमतोमा विद्यालय, पालिका, इकाइ सूचना प्रकाशन नभएको र केन्द्रमा समेत बोधार्थ नदिएर सूचना प्रकाशन नभएको र सूचना लुकाएर (सरुवालाई व्यवस्थित र मर्यादित बनाउन सूचनाको सम्प्रेषण हुनुपर्नेमा नभएको) आर्थिक चलखेलमा सरुवासम्बन्धी निर्देशिका, नियमावली आदिलाई गलत बनाएर सरुवा गरिएको पाइन्छ । सूचनाको आधारमा योग्य शिक्षकहरुले निवेदन दिनुपर्ने र निवेदन दिनेहरुमध्ये ज्येष्ठता तथा योग्यता समेतका आधारमा प्राथमिकताक्रम निर्धारण गरी शिक्षकको सरुवा हुनु पर्ने व्यवस्था निर्देशिकामा छ तर आर्थिक प्रलोभन र राजनीतिको चरम दुरुपयोग तथा पद र अधिकारको दुरुपयोग गरेर बिन्दवासिनी, जिराभवानी, बहुदरमाई, सखुवाप्रसौनी लगायतका पालिकामा सरुवा भएको पाइएको छ ।
विन्दवासिनी गाउँपालिकाअन्तर्गत पर्ने श्री रा.रा.चौ.मा.वि.झौवागुठीमा राजु कुमार साह तथा बहुदरमाई नगरपालिकाअन्तर्गत पर्ने श्री ने.रा. सिताराम महतो मा.वि. भौराटारमा मेघराज प्रसाद कुशवाहाको नियमावली तथा निर्देशिका विपरीत इकाइ प्रमुख श्री मोति प्रसाद भट्टराईले सरुवा गरेको पाइएको छ । इकाइ प्रमुखको मिलोमतोमा नियमविपरीत र आर्थिक चलखेलमा सरुवा गरिएको यो पहिलो घटनाचाहिँ होइन । योभन्दा अगाडि पनि विन्दवासिनी गाउँपकिालकाको वडा न ३ मा रहेको गिर्जा प्राथमिक विद्यालयमा कन्हैया प्रसाद यादव र वडा न २ मा रहेको राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयमा धर्मेन्द्र कुमार साहलगायतका लाई सूचना ननिकाली नियमबिपरीत सरुवा गरिएको छ ।
यो भन्दा अगाडि त राधाकृष्ण चौरसिया विद्यालयमा माध्यमिक तहमा त विषय नमिले तापनि गैरकानुनी तरिकाले नियम विपरीत सरुवा गरिएको थियो । इकाइ प्रमुखकै मिलोमतोमा विद्यालयमा माध्यमिक तहमा एक जना सामाजिक विषयको शिक्षक हुँदाहुँदै पनि अर्को सामाजिक विषयका शिक्षकको सरुवा गरिएको थियो । नेपाली, अंग्रेजी पढाउने शिक्षक नभएर शिक्षाको गुणस्तर बिग्रेको कुरा इकाइ र विद्यायलले बुझेर पनि बुझ पचाएको अवस्था छ ।
राधाकृष्ण चौरसिया विद्यालयमा माध्यमिक तहमा अंग्रेजी पढाउने शिक्षकमा राहत कोटा रिक्त हुँदा आफ्नै नातागोता र आफन्त पर्ने लेखा विषयका शिक्षकलाई सरुवा गर्दा त्यस विद्यालयमा सामाजिक २, गणित २, जना शिक्षक छन् । नेपाली र अंग्रेजी विषयमा विषय नमिलेको भए तापनि नियमविपरीत सरुवा गरिएको थियो । फेरी त्यही विद्यालयमा नियमविपरीत सरुवा गरिएकेको छ । त्यस्ता सरुवामा साढेँ दुई लाखदेखि चार लाखसम्मको चलखेल हुने गरेको एकजना शिक्षकले दावी गरेका छन् ।
यो बिषयमा इकाई प्रमुख भट्टराईले म मन्त्रीको सचिवालय बसेको मान्छे हो , मसंग गल्ती हुदैन भन्दै आफनो कुरा राखे तर आर्थिक चलखेल बिना कुनै काम नहुने गरेको त्यहाँ कार्यरत नाम नखुलाउने शर्तमा एक कर्मचारीले ज्योती दैनिकलाई बताए ।
यो पनि हेर्नुहोस ।
आर्थिक चलखेलमा एउटै विषयका दुईटा दरबन्दी कायम ।