वीरगन्ज । पर्साको धोबिनी गाउँपालिका–१ घोडदौडा टोलस्थित ओरिया खोलामा झोलुङ्गे पुल निर्माणका लागि पाँच वर्षअगाडि नै उपभोक्ता समितिले दुईपटक गरी ४४ लाख रुपैयाँ पेस्की लिइसकेको छ । तर, हालसम्म दुईवटा अधुरा पिलरमात्र निर्माण भएका छन् ।
झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकाले पटक–पटक पत्राचार गरे पनि उपभोक्ता समितिले चासो लिएको छैन । आर्थिक वर्ष २०७५/०७६ मा पुल निर्माणका लागि गाउँपालिकाले ९५ लाख ९७ हजार रुपैयाँमा ८ महिनाभित्र निर्माण सम्पन्न हुने गरी उपभोक्ता समितिसँग सम्झौता गरेको थियो ।
ओरिया खोलामा पुल नहुँदा घोडदौडाका बासिन्दा वर्षातको समयमा भारतको बाटो प्रयोग गरी औषधि उपचारका लागि वीरगन्ज आउनुपर्ने बाध्यता छ । घोडदौडा निवासी ललु यादवले वर्षातको समयमा ओरिया खोलामा एक हप्तासम्म बाढी आउने गरेको बताए । ‘खोलामा पानी आउँदा आवतजावत गर्न सकिँदैन,’ ६५ वर्षीय यादवले भने, ‘त्यसबेला भारतीय बजार नै एकमात्र सहारा बन्ने गरेको छ ।’ भारतीय गाउँ इनरवा, खनिया, दसौता हुँदै नेपाली गाउँमा जाने बाध्यता रहेको उनी बताउँछन् । ‘वर्षातमा धेरै समस्या हुन्छ,’ उनले भने, ‘५ वर्षअगाडि नै पुल निर्माण सुरु भएको थियो । तर, सुरुमा जुन काम भयो, त्यसपछि ठप्प छ ।’९५ लाख ९७ हजारमध्येबाट ४४ लाख रुपैयाँ पेस्की उपभोक्ता समितिले लिए पनि करिब ८ लाख रुपैयाँको मात्र निर्माण कार्य भएको छ । समितिको खाताबाट सबै पैसा झिकिसकिएको छ । गाउँपालिकाको लेखा शाखाका अनुसार उपभोक्ता समितिले २०७५/०७६ मा २६ लाख र २०७६/०७७ मा १८ लाख गरी ४४ लाख रुपैयाँ पेस्की लिएको थियो ।
महालेखा परीक्षकको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदनले सम्झौता अवधिसम्म कार्य सम्पन्न नभएकाले सुद समेत लगाई असुल फर्स्योट गर्नुपर्ने गाउँपालिका कार्यालयलाई निर्देशन दिएको थियो । सम्झौताअनुसार ८ महिनामा पुल निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म १० प्रतिशत पनि कार्य सम्पन्न नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
‘सम्झौता अनुसार कार्य गर्न नसक्ने उपभोक्ता समितिलाई गाउँपालिकाले पेस्कीमाथि पेस्की रकम उपलब्ध गराएको छ । समितिले समयमै काम गर्न नसक्ने कारण पहिचान गरी नियमानुसार समयमा काम नगरेका सुद समेत लगाई असुल फर्स्यौट गर्नुपर्ने,’ महालेखा प्रतिवेदनमा उल्लेख छ ।
धोबिनी गाउँपालिकाले २०७८ मंसिर ९ मा उपभोक्ता समितिलाई कार्य सम्पन्न भएको भए बिल भर्पाई पेस गर्नु हुन वा सुदसमेत हुन आउने ५१ लाख ३८ हजार रुपैयाँ कार्यालयको बेरुजु खातामा दाखिला गरेको सक्कल बैंक भौचर पेस गर्न उपभोक्ता समितिलाई पत्राचार गरेको थियो । तर, समितिले न त निर्माण नै अगाडि बढाएको छ, न बेरुजु खातामा पैसा नै दाखिला गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत महमद अशोक रौनियारले झोलुङ्गे पुल निर्माणमा अनियमितता भएको बताए । ‘उपभोक्ता समितिलाई पटक–पटक पत्राचार गरिएको छ,’ उनले भने, ‘काम नगरेपछि लिएको पेस्की गाउँपालिकामा दाखिला गर्नुपर्छ । कि त पैसा दिनुपर्यो, या त काम अगाडि बढाउनुपर्यो ।’
उपभोक्ता समितिका अध्यक्ष धोबिनी– १ पिप्रा निवासी सुरेशप्रसाद कुर्मीले पेस्की रकमबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका छन् । गाउँपालिकाका तत्कालीन प्रमुख सुरेश कुर्मीका निकट मानिने लालबाबुले खाली चेकमा आफूसँग हस्ताक्षर गराई लिएको समितिका अध्यक्षले बताएका छन् । ‘पेस्की रकमबारे कुनै जानकारी छैन,’ समिति अध्यक्ष कुर्मीले भने, ‘गाउँपालिकाबाट कति पेस्की भुक्तानी भयो र कति निकासा भयो भन्नेबारेमा मलाई कुनै जानकारी छैन ।’
घोडदौडा पिपराका वडाध्यक्ष बन्धु साह तेलीले उपभोक्ता समितिले अनियमितता गरे पनि हालसम्म कारबाही नभएको गुनासो गरे । ‘अख्तियार दुरुपयोग अनुसन्धान विभागमा उजुरी गर्दासमेत कुनै कारबाही भएको छैन,’ उनले भने, ‘पटक–पटक ताकेता हुँदा पनि सरोकारवाला निकायले चासो लिएका छैनन् ।’ खोलामा पुल नहुँदा घोडदौडाका बासिन्दाले अत्यन्त समस्या भोग्नु परेको छ । उनका अनुसार गाउँमा पञ्चायती हुँदा लालबाबुले आफूले चलाएको पैसा खेत बिक्री गरेर भए पनि समितिको खातामा दाखिला गर्ने प्रतिबद्धता जनाएका थिए । तर, हालसम्म उनले आफ्नो भागमा पर्ने पैसा दिएका छैनन् ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७(५) मा उपभोक्ता समिति तथा लाभग्राही समुदायबाट काम गराउँदा सम्झौता रकमको बढीमा एकतिहाई रकमसम्मको अग्रिम रूपमा पेस्की दिन सक्ने व्यवस्था छ । तर, घोडदौडाको ओरिया खोलामा झोलुङ्गे पुल निर्माण कार्यका लागि उपभोक्ता समितिसँग २०७५/७६ मा लागत अनुमान ९५ लाख ९७ हजारमा सम्झौता भई २६ लाख पेस्की भुक्तानी दिएको छ । पुनः आव २०७६/७७ मा काम नै नगरी १८ लाख पेस्की भुक्तानी गरी जम्मा ४४ लाख पेस्की उपलब्ध गराएको छ । नियमानुसार सम्झौता रकमको एकतिहाई ३२ लाख पेस्की दिन मिल्नेमा ४४ लाख रुपैयाँ पेस्की दिएकाले बढी पेस्की १२ लाख नियमसम्मत नभएको महालेखा प्रतिवेदनमा उल्लेख छ । सम्भार : कान्तिपुर