वीरगञ्ज । वीरगञ्जमा यही पुष २१ गतेदेखि हुने एलाइट (जय ट्रफी) कपको तयारी अन्तिम चरणमा छ । वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुर गरी दुई वटा स्थानमा हुने प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पुस २१ गतेदेखि दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको क्यान पर्साका अध्यक्ष ई.मनिष सिंहले जानकारी दिए । उनकाअनुसार ‘जय ट्रफी मेन्स एलाइट कप’ नामाकरण दिइएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको सहभागिता रहनेछ ।
वीरगञ्जमै राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुन लागेकोमा क्यान पर्साका अध्यक्ष सिंहले खुशी व्यक्त गरे । अब सबै किसिमका व्यवस्थापनमा कुनै पनि कमी नगरेर आगामी दिनमा अरु पनि प्रतियोगिता आयोजना गर्ने वातावरण निर्माणमा लागेको सिंहको भनाई छ । उनले भने, ‘क्यानको कारण आज वीरगञ्जमै ठूलो प्रतियोगिता आयोजना गर्न सम्भव भएको छ । यसले यहाँका खेल प्रेमी र खेलाडीहरुलाई ठूलो सघाउ पुग्ने विश्वास लिएको छु ।’
पिच निर्माण र मैदानको स्तरोन्नती गरिएपनि दर्शकलाई बस्ने व्यवस्था गर्न नसकिएको उनले बताए । बस्ने व्यवस्था नभएपनि मैदान भन्दा बाहिर बसेर खेलाडीलाई प्रोत्साहन गर्नका लागि पनि आउन उनले अनुरोध गरे । अर्काे वर्ष भने कम्तीमा २५ सय दर्शकलाई बस्नका लागि अस्थायी रुपमा भएपनि व्यवस्थापन गर्ने उनले बताए ।
क्यानका पूर्व अध्यक्ष स्वर्गीय जयकुमार नाथ शाहको नाममा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । यस प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीलाई सहभागी गराउन लागिएको हो ।
यही प्रतियोगिताका लागि वीरगञ्जको नारायणी क्रिकेट मैदानलाई स्तरोन्नती गरिएको छ । क्यानकै कारण र वीरगञ्ज महानगरपालिकाको समन्वयमा पिच निर्माणदेखि लिएर मैदानको स्तरोन्नती सम्भव भएको क्यान पर्साका सचिव घनश्याम गुप्ताले बताए ।
माघ ३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरमा हुनेछन् ।